गत असार तेस्रो सातादेखि अविरल रूपमा परिरहेको वर्षाले जिल्लाभर रहेका नदी, खोला, नालामा आएको बाढीले डुबान, कटानी र पटानी गरिरहेको छ। अहिलेसम्म पनि कञ्चनपुरमा परिरहेको अविरल वर्षाले नदीखोला, नाला एवं खहरेखोलामा आएको बाढीले कटानी गरिरहेको छ।
चुरे भएर बग्न चौधर नदीले गत असार अन्तिम साता जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका– ५ इमलियास्थित महाकाली सिँचाइको नहर फोडेर गणेश माध्यमिक विद्यालयमा पटानीदेखि दक्षिणका इमलिया, खैरीघाट, सडकघाट, खल्लासहितका गाउँबस्ती डुबानमा परेका थिए । अहिले जिल्लाको उत्तरी भेग बेदकोटमा चौधर नदीले ताण्डव मच्चाइरहेको छ ।
चौधर नदीले बेदकोट नगरपालिका– ४ बैतडा सार्कीटोल कटानी गरिरहेको छ। बैतडा सार्कीटोलका स्थानीय एवं बेदकोट नगरका अगुवा युवा राजुराम सार्की (भुल)ले चौधर नदीले पाँच बिघा जमिन कटानी गरिसकेको बताए।
‘चौधर नदीले यसै वर्ष पनि स्थानीय र सार्वजनिक जमिन गरेर झन्डै पाँच बसघा हाराहारी कटानी गरिसक्यो, फेरि चौधर नदी बस्तीतिर आइरहेको छ, हामी विपतकाे उच्च जोखिममा छौँ, तैपनि बस्ती जोगाउनका लागि कसैको ध्यान दिएको छैन।’
उनका अनुसार गाउँमा रहेको ज्ञानज्योति बाल विकास केन्द्र, बेदकोट छाला प्रशोधन केन्द्रसहित स्थानीयहरू मदन भुल, रामु भुल, उत्तरे भुल, दीपक भुल, दानी भुल, ठेसे भुल, धर्मे भुल, डम्मर भुलको घर अति उच्च जोखिममा रहेको बताए। ‘चौधर नदी बस्तीतिरै पुग्न अब सय मिटर पनि छैन, वर्षौँदेखि कटानी गरिरहेको बाढीले हाम्रो बस्ती सर्दै सर्दै आएको छ,’ उनले भने, ‘हामीसँग भएको जमिन पनि नदीले लगिसक्यो, अब भोकमरीको चिन्ता छ।’ सार्की टोलका उत्तरे भुलले चौधर नदीका कारण सिंगो सार्कीटोल नै बिचल्लीमा परिरहेको बताए।
चौधर नदी उत्तरतिर मोडिएपछि आफूहरूलाई स्कुल, अस्पताल, बजार, पालिका एवं सदरमुकाम जान अत्यन्त कठिनाइ भइरहेको बताए । सरकारी निकाय र स्थानीय जनप्रतिनिधिको उदासीनताका कारण सार्कीटोलको भविष्य झन् भयावह बन्नुका साथै जमिन भए पनि सुकुम्बासी हुनुपर्ने अवस्था रहेको दुःखेसो पोखेका छन्।