बाल संरक्षणसम्बन्धी एकीकृत कानुन जरुरी छ : उपसभामुख राना

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले बाल संरक्षणसम्बन्धी एकीकृत कानुन आवश्यक रहेको बताएकी छिन्। नेपाल आदिवासी जनजाति महासंघ नगरपालिका समन्वय परिषद्ले पाल्पाको रामपुरमा बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभामुख रानाले बाल संरक्षण कानुन स्पष्ट नरहेको बताएकी हुन् । 

‘बाल संक्षण कानुन स्पष्ट छैन, सबै बालबालिका समेट्ने कानुन जरुरी छ,’ उनले भनिन् । दृष्टिविहीन, अभिभावक गुमाएका, बाबुआमा जेल परेका बालबालिकाको पनि राज्यले संरक्षण गर्ने गरी एकीकृत कानुन बनाउनुपर्ने उनको भनाइ थियो । यसैका लागि आफू राजनीतिमा आएको र पहल गरिरहेको रानाले जानकारी गराइन् । उपसभामुख रानाले घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउनुपर्ने र यसले आदिवासी जनजाति समुदायको जीविकोपार्जन र समृद्धिमा मद्दत पुर्याउने बताइन् । 

नेपालमा राजनीतिक प्रतिस्पर्धा स्वस्थ नरहेको र अरूलाई लडाएर आफू स्थापित हुने प्रवृत्ति रहेको भन्दै उपसभामुख रानाले एकता जरुरी रहेको बताइन्। आवश्यक पर्दा आफ्नो मुलुक, समाज, समुदायको हितमा एकीकृत भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । 

आदिवासी जनजाति समुदायले शिक्षालाई जोड दिएर नेतृत्वमा आउन प्रतिस्पर्धा गर्नुपर्ने र राज्यको संयन्त्रमा जिम्मेवारी निर्वाह गर्न सक्षम हुनुपर्ने उपसभामुख रानाले सुझाव दिइन् । कालीगण्डकी करिडोर सडक सुन्दर रहेको, तर ठाउँठाउँमा पहिरोले भत्किएको भन्दै सुधारका लागि आफूले अर्थमन्त्री विष्णु पौडेलसँग पहल गर्ने प्रतिबद्धता पनि जनाइन् ।

सुझावित समाचार