एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ)ले आगामी निर्वाचनमा तीनवटै तहको निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने भन्दै प्रचारात्मक एजेन्डा बनाएको छ।
वडा र टोल तहसम्म गरिरहेको संगठन विस्तारलगायतका कार्यक्रम र आन्तरिक सम्मेलनहरूमा संघले जनसंख्याको आधारमा पुरुषसरह ५० प्रतिशत समान सहभागिताको मुद्दालाई प्राथमिकतासहित प्रचारात्मक एजेन्डा बनाएको जानकारी दिएको हो।
‘संघले आयोजना गरेको देशभरका वडा र टोलसम्मका कार्यक्रम र सम्मेलनहरूमा हामीले जनसंख्या अनुपातकै आधारमा महिलालाई अबको चुनावमा ५० प्रतिशत सहभागिता गराएर समान अवसर दिनुपर्ने विषयलाई उठाइरहेका छौँ,’ संघको प्रचार तथा प्रकाशन विभागले बुधबार आयोजना गरेको अन्तर्क्रियामा अध्यक्ष टुकाभद्रा हमालले भनिन्, ‘तर, पार्टीमा त्यो अवसर लिनका लागि सदस्यता विस्तार अभियान ५० प्रतिशत महिला पुर्याउने लक्ष्यसहित काम गरिरहेका छौँ।’
संगठन विस्तारमार्फत लक्ष्य पूरा गर्न अग्रसर भएको अवस्थामा मात्र समान सहभागिताको एजेन्डाले पूर्णता पाउने भन्दै उनले अबको निर्वाचनसम्म प्रस्ट योजना र सक्रियताका साथ त्यस दिशामा अग्रसर हुन महिला संघका नेता–कार्यकर्तालाई आग्रह पनि गरिन्।
समानताको लक्ष्य पूरा गर्न पार्टीले पाएको मतको आधा सदस्य बनाउने गरी संघ अगाडि बढेको भन्दै उनले त्यसपछि मात्र ५० प्रतिशत अधिकार लिन नेतृत्वलाई घेराबन्दी गर्न सकिने प्रस्ट्याइन्।
‘समानताको लक्ष्य पूरा गर्ने हो भने पार्टीले प्राप्त गरेको मतको आधा सदस्य बनाउन सबै तहका कमिटी परिचालित हुनुपर्छ, तब मात्र नेतृत्वलाई पनि घेराबन्दी गर्न सकिन्छ भन्दै आएका छौँ,’ हमालले भनिन्।
सरकारले संशोधन गर्न खोजेको निर्वाचन कानुन विधेयक तथा दुई ठूला दल कांग्रेस र एमालेले अगाडि सारेको संविधान संशोधनको एजेन्डातर्फ पनि संघको ध्यान केन्द्रित भइरहेको जानकारी दिँदै उनले ती विषयहरूमा अन्य महिला संगठनहरूसँगसमेत सहकार्य गरेर अगाडि बढ्ने सोचका साथ सञ्जाल स्थापित गर्न खोजिएको बताइन्।
उनले पार्टीले अगाडि सारेको मिसन– ८४ को लक्ष्य पूरा गर्न टोल तहदेखि नै सदस्यता विस्तारका लागि देशभर महिला सशक्तीकरण अभियान चलाइएको जानकारी दिइन्। प्रचार तथा प्रकाशन विभाग प्रमुख कालिका पाठकले प्रचार अभियानलाई नयाँ ढंगले व्यवस्थित गर्दै अनेमसंघ समानताको एजेन्डा पूरा गर्ने दिशामा अगाडि बढ्ने जानकारी दिइन्।