विराटनगरस्थित बाल सुधारगृहबाट दुईजना बालक भागेका छन्। मंगलबार दिउँसो ३ बजेतिर अतिरिक्त क्रियाकलाप भइरहेको मौका पारेर सुधारगृहमा रहेका एकजना कैदी र एकजना बन्दी बालक भागेका हुन्।
भागेका बालकमा सुनसरीको कोशी गाउँपालिका घर भएका १६ वर्षीय कैद सजाय भोगिरहेका र अर्को सोही उमेरका सुनसरीको बराहक्षेत्र नगरपालिका घर भएका पुर्पक्षका लागि बन्दी रहेका बालक छन्।
कोशी गाउँपालिका घर भएका कैदी बालक अदालतले कर्तव्य ज्यान तथा डाँका कसुरमा सुनाएको १२ वर्ष ६ महिना कैद सजाय भुक्तान गरिरहेका थिए। बराहक्षेत्र घर भएका बन्दी बालक बलात्कार आरोपमा पुर्पक्षका लागि सुधारगृहमा थिए । भागेका दुवैजना बालकको खोजी भइरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।
यहाँ रहेको बाल सुधारगृहबाट पटकपटक कैदीबन्दी बालक भाग्दै आएका छन् । बाल सुधारगृहको क्षमता ५० जनाको भए पनि हाल दुई सय ३८ जना कैदीबन्दी बालक राखिँदै आएको छ । १८ वर्षसम्मका बालबालिकालाई मात्र सुधारगृहमा राख्नुपर्ने भए पनि मुद्दा फैसलाको कारणले एक सय २४ जना १८ वर्ष उमेरमाथिका बालबालिका पनि बस्दै आएका छन् ।