नेपालगन्ज रंगशालामा गुणस्तरहीन ट्रयाक ओछ्याइएको विषयमा छानबिन गर्न क्रिकेटका पूर्वकप्तान एलबी क्षेत्रीको संयोजकत्वमा समिति, बुधबारसम्म प्रतिवेदन बुझाउन राखेपको निर्देशन
नौ करोड ८६ लाख ४० हजार आठ सय ३२ रुपैयाँ लागतमा नेपालगन्ज रंगशालामा ओछ्याइएको सेन्थेटिक ट्रयाक एक महिनामै उप्किएको छ । खेलसँग सम्बन्धित संस्थाहरूले सेन्थेटिक ट्रयाकको गुणस्तरमाथि प्रश्न गरेका छन् । सर्वत्र आलोचना भएपछि राखेपले नेपाली क्रिकेटका पूर्वकप्तान लेखबहादुर (एलबी) क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ ।
क्षेत्रीको संयोजकत्वमा रहेको समितिलाई राखेपले तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ललितपुरको पञ्जकन्या साइनकोट्स जेभीलाई सेन्थेटिक ट्रयाक निर्माण गर्न सन् २०२३ मार्च २३ मा पञ्चकन्या साइनकोट्स जेभीसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार २०२४, जनवरी ५ मा निर्माण सम्पन्न गर्ने सम्झौता थियो । यद्यपि, निर्माण कम्पनीले ६ महिना ढिलो काम सकेको हो ।
संयोजक क्षेत्रीले सोमबार पहिलो चरणको निरीक्षण गरेका छन् । उनले अध्ययन समितिले सरोकारवाला निकायलाई छलफलका लागि बोलाएका छन् । ‘हामीलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन छ,’ क्षेत्रीले भने, ‘निर्माण कम्पनी, राखेपका इन्जिनियर र साइट हेर्ने इन्जिनियरलाई सोधपुछका लागि बोलाएका छौँ ।’
समितिले ठोस निष्कर्षसहितको प्रतिवेदन राखेपलाई बुझाउने उनले बताए । क्षेत्रीका अनुसार निर्माण कम्पनीको लापरबाही देखिए कारबाहीको सिफारिस हुनेछ । ट्रयाकका धेरै स्थानमा पानी जम्नुका साथै ठाउँ–ठाउँमा उप्किएका छन् । निरन्तरको वर्षासँगै सेन्थेटिक ट्रयाक उप्केको निर्माण कम्पनीले जनाएको छ । गत असारमा पञ्चकन्या साइनकोट्सले निर्माण सम्पन्न भएको जनाएको थियो । उसले राखेपलाई हस्तान्तर गर्न मात्र बाँकी थियो । सेन्थेटिक ट्रयाक उप्किएपछि नागरिक समाजका अगुवालगायत खेलप्रेमीले यसको गुणस्तरीयतामाथि प्रश्न उठाएका हुन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले निर्माण भएको सेन्थेटिक ट्रयाकको गुणस्तरबारे छानबिन हुनुपर्ने बताए । ‘के–कति कारणले उप्किएको हो । यसको गहन अध्ययन र अनुसन्धान गरी दोषीमाथि कारबाही हुनुपर्छ,’ ट्रयाकको अवलोकन गरेका श्रेष्ठले भने, ‘निर्माणका क्रममा न्यून गुणस्तरको सामग्री प्रयोग गरेको देखिन्छ । यस कारण नै यो एक महिनामै उप्कियो ।’ यस विषयमा राखेपले गम्भिर भएर अध्ययन र अनुसन्धान गर्नुपर्ने उनले जनाए ।
रेखदेख गर्न नपाएको गुनासो
सेन्थेटिक ट्रयाक निर्माणका क्रममा राखेपले केन्द्रबाट इन्जिनियर र कर्मचारी खटाएको थियो । राखेपअन्तर्गत सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख महेश चन्दले सेन्थेटिक ट्रयाक निर्माणका क्रममा आफूहरूलाई रेखदेख गर्न अधिकार नपाएको दाबी गरेका छन् । उनले केन्द्रबाट इन्जिनियर र कर्मचारी खटाएको बताए । सम्पर्क कार्यालयलाई अनुगमन तथा निरीक्षणको जिम्मेवारी नदिँदा निर्माण कम्पनीले गरेको कामको आफूले रेखदेख गर्न नसकेको चन्दको भनाइ छ ।
‘हाम्रै अगाडि निर्माणको काम भयो । तर, हामीले रेखदेख गर्ने अधिकार नपाउँदा ट्रयाक बनिरहेको टुलुटुलु हेर्नेबाहेक अरू गर्न सकिएन,’ उनले भने । सुर्खेतमा मंसिरमा हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रशिक्षण दिने तयारीमै ट्रयाक उप्किएको उनले बताए । ‘निर्माण भएको एक महिनामै उप्किनुले गुणस्तरहीन काम भएको छ भन्ने भनिरहनुपर्दैन । यो राखेपको मात्र नभई सिंगो देशका लागि लज्जास्पद छ,’ चन्दले भने, ‘कहाँनेर के कमजोरी भएको हो, यसको छानबिन हुन आवश्यक छ ।’
जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष सन्दीपजंग शाहले निर्माणको क्रममा राखेपले राम्रोसँग रेखदेख नगरेका कारण अहिलेको परिस्थिति सिर्जना भएको बताउँछन् । यसमा राखेपको दोष भएको उनले दावी गरेका छन् । ‘यसको सम्पूर्ण जिम्मेवारी राखेपले लिनुपर्छ,’ उनले भने, ‘जिल्ला र राखेपको सम्पर्क कार्यालयलाई अधिकार नदिनुमा केन्द्रको चलखेल छ भन्ने स्पष्ट हुन्छ ।’ उनले ट्रयाक उप्किनुमा प्राविधिक त्रुटि भएको र लेभल नमिलेको बताए । ‘गुणस्तरहीन काम भइरहेको छ भनेर मेरो नेतृत्वमा आठ महिनाअघि तालाबन्दी गरेका थियौँ । नभन्दै निर्माण भएको महिना दिनमै ट्रयाक उप्कियो । यसको सम्पूर्ण जिम्मेवारी राखेप हुनुपर्छ,’ शाहले भने ।
आठौँ राष्ट्रिय खेलकुदमा प्रयोग भएको रंगशाला
आठौँ राष्ट्रिय खेलकुदको क्रममा निर्माण थालिएको रंगशाला निर्माण अधुरो रहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकका लागि तत्कालीन खेलकुदमन्त्री महेश्वर गहतराजको पहलमा बजेट विनियोजन भएको थियो । राखेका सदस्यसचिव टंकलाल घिसिङले शिल्यान्यास गरेको सेन्थेटिक ट्रयाकको निर्माण कार्यमा कम्पनीले लापरबाही गरेको भन्दै त्यसको गुणस्तरमा आशंका गरिएको हो । आठौँ नेपालगन्जमा निर्माण गरिने भनिएको ट्रयाक दाङ बेलझुन्डीमा लगिएको भन्दै आलोचना भएको थियो । सेन्थेटिक ट्रयाक नहुँदा आठौँ खेलकुद प्रतियोगितामा एथलेटिक्सका खेल बेलझुन्डीमा भएको थियो । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल नेपालगन्ज रंगशालामा भएका थिए । त्यसवेला प्यारापिटसहितको अन्तर्राष्ट्रिय मापदण्डको पौडी पोखरी, घाँसको फुटबल मैदान, अत्याधुनिक प्यारापिट, सुटिङ रेन्ज, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, बास्केटबल कोर्टलगायत निर्माण भएका थिए ।