सफलताका लागि योजनाबद्ध सक्रियता आवश्यक : प्रधानमन्त्री

मंगलबार, ४ भदौ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सफलताका लागि एकताबद्ध र योजनाबद्ध सक्रियता आवश्यक रहने बताएका छन् । एमाले बागमती प्रदेशअन्तर्गत प्रदेश, जिल्ला, निर्वाचन क्षेत्रलगायत भूगोलमा जिम्मेवारी पाएका पार्टीका नेताहरूलाई कार्यक्षेत्र जानुअघि प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार निर्देशन दिँदै उनले त्यस्तो बताएका हुन् ।

ओलीले आगामी निर्वाचनमा ०७९ को निर्वाचन परिणामबाट शिक्षा लिएर बहुमतको लक्ष्य हासिल गर्ने गरी काममा जुट्न निर्देशन दिए । कठोर परिस्थिति र विरोधीको चौतर्फी आक्रमण सामना गरेर पुरानै अवस्थामा फर्केको पार्टी भएकाले निर्वाचन परिणाममा पनि पहिलेको अवस्थामा फर्कने र अझ बढी सफलता हासिल गर्न सक्ने सामथ्र्य एमालेमा मात्रै रहेको उनको भनाइ थियो । 

कार्यक्रममा पार्टीले भर्खरै गरेको कार्यविभाजनबाट बागमती प्रदेशमा भूगोलको जिम्मेवारी पाएका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज डा. राजन भट्टराई, बागमती प्रदेशअन्तर्गतका १३ जिल्लाका इन्चार्ज, निर्वाचन क्षेत्रमा जिम्मेवारी पाएका केन्द्रीय कमिटीका सदस्यहरू, बागमती प्रदेश कमिटीका पदाधिकारी र जिल्ला अध्यक्षको उपस्थिति थियो । 

ओलीले पार्टीसँग देश निर्माणका सही नीति रहेकाले योजनाबद्ध सक्रियता हुँदा स्पष्ट बहुमतको लक्ष्य प्राप्त गर्ने कुरा असम्भव नभएको बताए । एमालेलाई कसरी कमजोर बनाउन सकिन्छ भनेर विरोधीहरूले सबै खालका हतकण्डा अपनाउने गरेका र कतिपय आफ्नो जग, आधार नभएका विरोधीहरूले प्रचार संयन्त्र प्रयोग गरी एमाले र यसका नेताविरुद्ध बहकाउने काम भइरहेकोतर्फ ध्यानाकर्षित गर्दै उनले पार्टीपंक्तिले ती कुप्रचारलाई चिरेर भ्रम हटाउँदै जनतामा सत्य र यथार्थ कुरा सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । 

आफ्नो नेतृत्वको अघिल्लो सरकारले राम्रा काम गर्दागर्दै पृष्ठभागमा प्रतिक्रियावादी र अग्रभागमा पार्टीभित्रकै केही मान्छेले कुप्रचारको अभियान चलाएको भन्दै ओलीले अहिले पनि जो सबभन्दा ठूलो भ्रष्टाचारी छ उसैले भ्रष्टाचारीलाई कारबाही गर्न खोज्दा सरकारबाट हट्नुपरेको भनी कराइरहेको बताए । 

सुझावित समाचार