ग्लोबल आइएमई बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि सिइओ रेग्मीले बैंकको सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए ।
नवनियुक्त सिइओ रेग्मीको बैंकिङ क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव रहेको छ । राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ करिअर सुरु गरेका रेग्मी ०६५ वैशाखमा नायब प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका हुन् । उनीसँग बैंकिङ क्षेत्रको करिब ३५ वर्षभन्दा लामो अनुभव रहेको छ ।
नवनियुक्त रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा बेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबिए गरेका छन् । शपथ कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लामो समय बैंकिङ क्षेत्रमा रही काम गरेका रेग्मीको कार्यकालमा बैंक थप सबल र सुदृढ हुने विश्वास व्यक्त गरे ।
पदभार ग्रहण गर्दै रेग्मीले मुलुककै सबैभन्दा ठूलो र प्रतिष्ठित बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिँदा गर्व र दायित्वबोध दुवै महसुस भएको बताए । बैंकको ब्रान्ड, नेटवर्क र सशक्त बजार हिस्सा बढाउन आफूले प्रयत्न गर्ने उनको भनाइ छ ।