लमजुङमा ‘एक चिहान’ नाटक मञ्चन

सोमबार, ३ भदौ, २०८१
डिजिटल संस्करण

लमजुङको सदरमुकाम बेँसीसहरमा मञ्जरी नाट्य समूह लमजुङ र पोखरा थिएटरको संयुक्त प्रस्तुतिमा ‘एक चिहान’ नाटक मञ्चन गरिएको छ । ‘रंगमञ्चद्वारा शिक्षण सिकाइ’ भन्ने मूल नाराका साथ बुधबारदेखि शनिबारसम्म दैनिक तीनपटक नाटक मञ्चन गरिएको कार्यक्रम संयोजक एवं मञ्जरी नाट्य समूह लमजुङका अध्यक्ष केदार बोहराले बताए ।

नाटकबाट जिल्लामा रंगमञ्चीय अवधारणाको जानकारी गराउनुका साथै मनोरञ्जन दिन खोजिएको बोहराको भनाइ छ । गरिबी, बाध्यता र विवशताको परिवेशमा निम्नवर्गीय जीवनका जटिलता र संघर्ष प्रस्तुत भएको यस नाटकमा विशेषगरी नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ ।

प्रजातन्त्र प्राप्तिपछि बिस्तारै मौलाउँदै गएको प्रगतिशील सोचको परिवेश, सांस्कृतिक सम्मिश्रण, समावेशी र समानताका लागि आवश्यक परेको तथ्य, रुढीवादी र अन्धविश्वासले नेपाली समाजलाई नछाडेको वास्तविकता नाटकभित्र अनुकूल घटनाक्रम र स्वाभाविक पात्रको परिवेशबाट व्यक्त गरिएको छ। त्यस्तै, समाजले नारीलाई हेर्ने दृष्टिकोण, जातीय विभेदजस्ता विषयवस्तुमा व्यंग्यात्मक शैलीमा नाटक एक चिहानको कथावस्तुमा प्रस्तुति गरिएको छ । 

नाटक एक चिहान नेपाली समाजका गरिब किसान र मजदुरहरूको जीवनमा आधारित छ। वि.सं. २०११ सालतिरको निम्नवर्गीय जीवनको यथार्थलाई सो नाटकमा प्रस्तुत गरिएको छ। चर्चित उपन्यासकार हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित कक्षा १२ को अनिवार्य नेपाली विषयमा समावेश गरिएको उपन्यास एक चिहानलाई नाटकीय रूप दिई नाटक एक चिहान मञ्चन गरिएको हो । 
 

सुझावित समाचार