निजी मेडिकल तथा डेन्टल कलेज संघले बंगलादेशमा आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि नेपाल फर्किएका चिकित्साका विद्यार्थीलाई निःशुल्क इन्टर्नसिपको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ ।
आइतबार बंगलादेशबाट फर्केका मेडिकलका विद्यार्थीलाई भेटेपछि संघका अध्यक्ष ज्ञानेन्द्रमानसिंह कार्कीले राज्य र सम्बन्धित निकायबाट अनुमति प्रदान गर्न मिल्ने अवस्था रहेमा सबै नेपाली मेडिकल कलेजहरूले स्वदेशमै पठनपाठन र निःशुल्क इन्टर्नसिप गराउन प्रतिबद्ध रहेको जनाएका छन् । संघमा १५ वटा निजी मेडिकल कलेज र डेन्टल कलेज छन् ।
‘बंगलादेशमा उत्पन्न भएको समस्याप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो विषम परिस्थितिमा बंगलादेशमा अध्ययनरत हाम्रा छात्रछात्राको पढाइप्रति हामी चिन्तित छौँ । राज्य र सम्बन्धित निकायबाट अनुमति प्रदान गर्न मिल्ने अवस्था रहेमा सबै मेडिकल कलेजले बंगलादेशमा अध्ययनरत छात्रछात्रालाई स्वदेशमै फर्काइ पठनपाठन र निःशुल्क इन्टर्नसिप गराउन प्रतिबद्ध छौँ,’ कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बंगलादेशमा आन्दोलन साम्य नहुँदा फर्किने सुरक्षित वातावरण नभएकाले इन्टर्नसिपको अवधि लम्बिँदै गएको भन्दै विद्यार्थीले नेपालमै बाँकी इन्टर्नसिप गर्ने व्यवस्था मिलाइदिन माग गरेका छन् । आन्दोलनका कारण बंगलादेशमा बस्न सुरक्षित नभएको भन्दै नेपाल फर्किएका दुई हजारमध्ये करिब चार सय चिकित्साका विद्यार्थी पढाइ सकेर एकवर्षे इन्टर्नसिप गर्नुपर्ने अवस्थाका छन् ।