गत आवमा चालू खाता बचतमा, विदेशी मुद्रा सञ्चिति उच्च, बढ्दो रेमिट्यान्स, पर्यटन आगमन उच्च लयलगायतले अर्थतन्त्रलाई बनायो सकारात्मक । बिदेसिने विद्यार्थीको संख्यामा वृद्धि, वैदेशिक व्यापार संकुचन, कर्जा विस्तार नहुनु, निराशजनक राजस्व संकलनलगायतले थपियो चिन्ता
आर्थिक वर्ष ०८०/८१ मा अर्थतन्त्र सुधारोन्मुख भएको राष्ट्र बैंकद्वारा जारी तथ्यांकले देखाएको छ । बाह्य क्षेत्र दिनानुदिन बलियो बन्दै गए पनि आन्तरिक अर्थतन्त्रका सूचकमा भने अपेक्षित सुधार हुन सकेको छैन ।
गत आवमा शोधनान्तर स्थिति र चालू खाता बचतमा, विदेशी मुद्राको सञ्चिति हालसम्मै उच्च, मासिक एक खर्बमाथि रेमिट्यान्सको आप्रवाह, पर्यटन आगमन कोभिडयताकै उच्च लयमा, प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धिलगायतका सूचकले अर्थतन्त्रलाई मजबुत बनाउन बल पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । रेमिट्यान्समा वृद्धि र शोधनान्तर स्थिति धनात्मक बन्दै जाँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी थुप्रिँदै गइरहेको छ ।
त्यसैगरी, विदेश पढ्न जाने युवाले खर्चने रकममा भएको चिन्ताजनक वृद्धि, वस्तु तथा सेवाको मागमा संकुचन, वैदेशिक रोजगारीमा परनिर्भरता, निजी क्षेत्रमा लक्ष्यअनुसार कर्जा विस्तार नहुनु, निराशजनक राजस्व संकलन, बढ्दो विदेश भ्रमणलगायत अर्थतन्त्रका नकारात्मक सूचकले गत आवमा पनि निरन्तरता पाएका छन् ।
गत आवमा अर्थ व्यवस्थामा ‘मार्जिनल’ सुधार देखिए पनि उल्लेख्य सुधार भने नभएको अर्थशास्त्री प्रा.डा. पुष्कर बज्राचार्यको टिप्पणी छ । बाह्य क्षेत्रमा सुधार आए पनि आन्तरिक अर्थतन्त्रको समस्या जस्ताको तस्तै रहेको उनले बताए । ‘अर्थतन्त्रमा मार्जिनल्ली सुधार भएको छ । विगतमा आर्थिक गतिविधि नबढेको र ब्याजदर उच्च रहेको अवस्थाको तुलनामा गत आर्थिक वर्षमा केही सुधार पक्कै भएको छ । तर, उल्लेख्य सुधार भएको मान्न सकिँदैन,’ उनले भने ।
विगतमा उच्च ब्याजदरको मारमा परेका ऋणीको उद्योग–व्यवसाय चल्न नसक्दा बैंकहरूको कर्जा असुली अझै प्रभावित भइरहेको उनको भनाइ छ । चालू आव ०८१/८२ कै जस्तो उदार मौद्रिक नीति विगतमा ल्याएको भए सामान्यभन्दा माथिल्लो तहको सुधार हुन सक्ने सम्भावना रहेको उनले बताए । उनले भने, ‘सरकारले उठाउने राजस्व संकलनमा सुधार आएको छ । तर, खर्चमा सुधार हुन सकेको छैन । सेयर बजारमा उत्साह बढेको छ, तर यो पनि अल्पकालीन हो । अझै पनि सैद्धान्तिक चुनौती कायम छन् ।’
सकारात्मक सूचक
रेमिट्यान्समा उल्लेख्य वृद्धि
रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षमा रेमिट्यान्स १२.२० खर्ब भित्रिएको थियो ।
वैदेशिक रोजगारीमा जाने घटे
आव ०७९/८० मा चार लाख ९७ हजार सात सय चारजनाले श्रम स्वीकृति लिएकोमा गत आवमा चार लाख ६० हजार १०३ जनाले स्वीकृति लिएका छन् ।
शोधनान्तर पाँच खर्ब बचतमा
समीक्षा वर्षमा शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ८५ अर्ब ८२ करोडले बचतमा थियो ।
चालू खाता दुई खर्ब बचतमा
समीक्षा अवधिमा दुई खर्ब २१ अर्ब ३४ करोडले चालू खाता बचतमा छ । अघिल्लो वर्ष ४६ अर्ब ५७ करोडले घाटामा थियो ।
२० खर्ब ४१ अर्ब विदेशी मुद्रा सञ्चित
असार, ०८० मा १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको विदेशी विनिमय सञ्चिति ०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड पुगेको छ ।
बिजुली निर्यात बढ्यो
बिजुली बेचेर १६ अर्ब ७३ करोड ६३ लाख रुपैयाँ आम्दानी भएको छ । अघिल्लो आवमा १०.४२ अर्बको निर्यात ।
१३ महिनाको आयातलाई ढुक्क
दुई वर्षअघि विदेशी मुद्रा सञ्चिति रित्तिँदै जाने जोखिम बढेको थियो । तर, अघिल्लो आव ०७९/८० मा सुधार भएर १० महिनाको आयात धान्न पुग्ने स्थिति बनेको थियो । गत आवमा थप सुधार भई १३ महिनालाई आयात धान्ने पैसा जम्मा भएको छ ।
वैदेशिक लगानी वृद्धि
आठ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ विदेशी लगानी भित्रिएको छ । आव ०७९/८० मा सात अर्ब ९७ करोड ७८ लाख रुपैयाँ लगानी भित्रिएको थियो ।
मूल्यवृद्धिमा सुधार
६.५ प्रतिशतभित्र राख्ने मुद्रास्फीतिको लक्ष्य ५.४४ प्रतिशतमा सीमित गरेको राष्ट्र बैंकको तथ्यांक छ । समग्र मागमा संकुचन आउँदा मुद्रास्फीति न्यून बनेको हो । गत आवमा मुद्रास्फीति ७.७४ प्रतिशत थियो ।
नकारात्मक सूचक
वैदेशिक व्यापारमा संकुचन
आयात–निर्यात दुवै खस्किएको छ । वस्तु आयात १.२ प्रतिशतले र निर्यात ३ प्रतिशतले घटेको छ । एक खर्ब ५२ अर्ब ३८ करोडको निर्यात र १५ खर्ब ९२ अर्ब ९९ करोड रुपैयाँको आयात भएको राष्ट्र बैंकले जनाएको छ ।
सरकारको आम्दानीभन्दा खर्च बढी
आव ०८०/८१ मा सरकारको आम्दानीभन्दा खर्च बढी हुँदा सरकारी वित्त तीन खर्ब ८२ अर्ब आठ करोडले घाटामा पुगेको छ । अघिल्लो आवमा यस्तो स्थिति चार खर्ब ९१ अर्ब ७८ करोडले घाटामा थियो ।
घुमघाममा बढी खर्च
नेपालबाट विभिन्न देश घुम्न जानेले गत आवमा ६४ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन् । राष्ट्र बैंकले घुम्न जाने र पढ्न जाने नेपालीले गर्ने खर्चलाई एकै ठाउँ राखेर एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ बाहिरिएको गणना गरेको छ ।
निजी क्षेत्रमा कम कर्जा विस्तार
मौद्रिक नीतिले निजी क्षेत्रमा ११.५ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण गरे पनि ५.८ प्रतिशतले मात्रै बढेको छ । समीक्षा अवधिमा दुई खर्ब ७६ अर्ब ९४ करोड थप कर्जा विस्तार भएको छ । कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५.८ प्रतिशतले, विकास बैंकहरूको कर्जा प्रवाह ५.० प्रतिशतले र वित्त कम्पनीहरूको ७.७ प्रतिशतले बढेको छ ।