दुधबाट एउटै गाउँमा डेढ करोड आम्दानी

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण

सल्यान दार्मा गाउँपालिका ढाकाडामका मनबहादुर खत्रीले दुध बेचेरै मासिक ४२ हजारभन्दा बढी आम्दानी गर्दै आएका छन्।  गत वर्ष मात्र उनले गाउँमै सञ्चालन भएको दुग्ध संकलन केन्द्रमा चार हजार लिटर दुध बिक्री गरे । एक वर्षमा चार हजार लिटर दुध बिक्रीबाट दुई लाख ८० हजारभन्दा बढी आम्दानी गरे ।

ढाकाडामकै क्षेत्रबहादुर केसीले पनि गत वर्ष एक हजार ८४५ लिटर दुध बिक्री गरे । जसबाट उनले एक लाख ३० हजारभन्दा बढी आम्दानी गरे । उनीजस्तैै ढाकाडामका ६ सयभन्दा बढी कृषकले नियमित रूपमा दुध बेच्दै आइरहेका छन् । मिहिनेत गर्ने हो भने घरमै बसेर मनग्य आम्दानी गर्न सकिने उदाहरण ढाकाडामका कृषकले देखाएका छन् ।

ढाकाडाममा प्रतिघर दुईदेखि माथितिर भैँसी नपाल्ने विरलै भेटिएलान्। भैँसीपालनलाई नै यहाँ किसानले आफ्नो पहिलो रोजाइ बनाएका छन्। घरमै  बसेर खेतीपाती र वस्तुभाउ दुवै पेसालाई सँगै लगेर सहजै परिवार पाल्न पाउँदा निकै खुसी लागेको मनबहादुरको भनाइ छ । उनले भने, ‘दिनमा २० देखि २२ लिटरसम्म दुध बिक्री भएकै छ, घर खर्च र छोराछोरी पढाउन भएकै छ अरू किन तनाव लिनुपर्याे र ? 

ढाकाडाममा सञ्चालित ढाकाडाम महिला साना किसान कृषि सहकारी संस्था र जलेखर्क दुग्ध उत्पादन तथा प्रशोधन सहकारी संस्थाले किसानहरूले उत्पादन गरेको दुध संकलन गर्दै आइरहेका छन् । गत आ.व. मा मात्र ढाकाडाम महिला साना किसान कृषि सहकारी संस्थाले एक लाख ९१ हजार लिटर र जलेखर्क दुग्ध उत्पादन तथा प्रशोधन सहकारी संस्थाले ६४ हजार ८७८ लिटर दुध संकलन तथा बिक्री गरेको छ । 

आफ्नो सेवा क्षेत्रभित्रका गाउँका विभिन्न आठ टोलमा दुध संकलन केन्द्र स्थापना गरी गाडीबाट दुध संकलन गर्दै आइरहेको ढाकाडाम महिला साना किसान कृषि सहकारी संस्थाका प्रवन्धक सुरेन्द्र प्रकाश केसीले बताए । उनले भने, ‘यस सहकारीका पाँच सयभन्दा बढी लाभग्राही कृषक छन्, सबै टोललाई पायक पर्ने गरी आठ स्थानमा दुध संकलन केन्द्र स्थापना गरी आफ्नै गाडीबाट दुध संकलन गर्ने गर्दछौँ ।’ 

गत वर्ष मात्र सहकारीले एक लाख ९१ हजार लिटर दुध संकलन तथा बिक्री गरेको केसीको भनाइ छ । जसबाट एक करोड ३३ लाख ७० हजार किसानले आम्दानी गरेका छन् । किसानहरूलाई दुई–दुई महिनाको अन्तरमा भुक्तानी गर्ने गरेको उनको भनाइ छ । 

फ्याट आधारमा दुधको मूल्य निर्धारण हुने भएकाले जुन कृषकको दुधमा बढी फ्याट उसले बढी रकम पाउने जलेखर्क दुग्ध उत्पादन तथा प्रशोधन सहरकारी संस्थाका अध्यक्ष गणेश केसीले बताए । ल्याक्टो मिटरका माध्यमबाट किसानले ल्याएको दुध परीक्षण हुने उनको भनाइ छ । उनले भने, ‘हाम्रो सेवा क्षेत्रभित्र एक सय ९२ जना कृषक हुनुहुन्छ उहाँहरूले ल्याएको दुधमा जति फ्याट छ साेहीअनुसारको मूल्य निर्धारण हुने गर्दछ ।’ 

जिल्लाभर तीन सय मेट्रिकटन दुध उत्पादन 
सल्यानमा गत आर्थिक वर्षमा तीन सय मेट्रिक टन दुध उत्पादन तथा बिक्री भएको छ । जिल्लाभर उत्पादन हुने दुधको ७५ प्रतिशतभन्दा बढी दुध ढाकाडामबाट आपूर्ति हुने पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले बताए । 

गत वर्ष मात्र तीन सय मेट्रिकटन दुध बिक्री हुँदा एक करोड ८० लाख रुपैयाँ किसानका हातमा परेको उनको भनाइ छ । आर्थिक वर्ष ०७९/८० मा २२४ मेटिक्टन दुध उत्पादन हुँदा किसानले एक करोड २३ लाख आम्दानी गरेका थिए । आ.व ०७९/८० को तुलनामा आ.व ०८०/८१ मा ७६ मेट्रिकटन दुध उत्पादनमा वृद्धि आएको छ ।

अनुदानले दुध उत्पादनमा वृद्धि
दुधमा प्रतिलिटर रु. पाँचका दरले किसानलाई प्रोत्साहनस्वरूप रकम उपलब्ध गराइएपछि जिल्लामा दुध उत्पादन वृद्धि भएको महतले बताए । उनले भने, ‘डेरीमा दुध बिक्री गर्ने किसानलाई कर्णाली प्रदेश सरकारले प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिन थालेपछि दुग्ध उत्पादक किसानको वृद्धिसमेत भएको छ ।’ गत वर्ष मात्रै दुई लाख ६६ हजार ८९५ लिटर दुधमा अनुदान दिएको उनले बताए ।  जसबाट किसानलाई अनुदान मात्र १३ लाख ३४ हजार ४७५ रुपैयाँ वितरण गरिएको छ । 

दुध उत्पादनलाई वृद्धि गर्न एक स्थानीय तह एक पशु सेवा उत्पादन कार्यक्रमअन्तर्गत कार्यालयले बागचौर, शारदा नगरपालिका, दार्मा, त्रिवेणी र कपुरकोट गाउँपालिकालाई दुग्ध पकेट क्षेत्रका रूपमा विकास गरेको छ। व्यावसायिक भैँसी तथा गाई पालन गर्ने किसानमा वृद्धि आउनु, नश्ल सुधारलगायतका कारण दुध उत्पादनमा वृद्धि आएको महतको भनाइ छ ।
 

See More On

सुझावित समाचार