अगस्ट २४ मा जर्मनीमा गुन्जिँदै १९७४ एडी

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण

१९७४ एडी ब्यान्डले जर्मनीमा प्रस्तुति दिने भएको छ। ब्यान्डका व्यवस्थापक अनुज कार्कीका अनुसार २४ अगस्टमा जर्मनीको स्टुगार्टमा पहिलो कन्सर्ट हुनेछ।

३०औँ वर्षगाँठको अवसर पारेर विश्वयात्रा गरिरहेको ब्यान्डले यसअघि मे र जुनमा अमेरिकाका आधा दर्जन सहर र जुलाई र अगस्टमा जापानका टोकियो र क्योटो सहरमा कन्सर्ट सम्पन्न गरिसकेको छ।

अमेरिकामा सम्पन्न भएको जर्मनीको टुरपश्चात् ४ देखि २१ सेप्टेम्बरसम्म अस्ट्रेलियाका सातवटा सहरमा यात्राको तयारी भइसकेको पनि ब्यान्डले जनाएको छ। जसअनुसार ४ सेप्टेम्बरमा ब्रिसबेन, ८ सेप्टेम्बरमा पर्थ, ९ सेप्टेम्बरमा मेलबर्न, १२ सेप्टेम्बरमा एडिलेड, १४ सेप्टेम्बरमा होबर्ट, १९ सेप्टेम्बरमा क्यानबेरा र २१ सेप्टेम्बरमा सिड्नीमा कार्यक्रम हुनेछ।

सन् २०१९ मा रियुनियन भएलगत्तै विश्वयात्रामा निस्किने तयारी गरेको भए पनि त्यसलगत्तै आएको कोभिडले रोकेको यात्रालाई ३०औँ वर्षगाँठको अवसरमा विश्वभरका फ्यानहरूसम्म पुर्याउन पाउँदा खुसी लागेको ब्यान्डका पर्कसनिस्ट सञ्जय श्रेष्ठले जानकारी दिए। उनका अनुसार ब्यान्ड पुरानै लाइनअपमा अमेरिका लगभग २२ वर्षपछि पुगेको थियो।

३० वर्षको यात्रामा धेरै उतारचढाव झेलेको भए पनि अहिले सँगै गएर आफ्ना पुराना र नयाँ सबै फ्यानहरूसँग एकैपल्ट जोडिन पाउँदा भिन्न अनुभव भएको ब्यान्डका संस्थापक तथा बेसिस्ट निराकार याकथुङ्बाले बताए।

३०औँ वर्ष पुगेकै अवसरमा ब्यान्डले केही समयअगाडि आफ्नो ‘हजार सपना’ गीतको भिडियो पनि बनाएको थियो। आर्टमाण्डुसँगको सहकार्यमा बनाइएको उक्त भिडियो ब्यान्डकै आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ।

सुझावित समाचार