नेपाल टेलिकमले गोरखाको विकट उत्तरी भेगका विभिन्न स्थानमा मोबाइल सेवा विस्तार गरेको छ । टेलिकमले तिब्बत नाकातर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्केपास, मनाङ पदमार्ग तथा चुमनुब्री गाउँपालिकाअन्तर्गतका विभिन्न स्थानमा मोबाइल सेवा विस्तार गरेको हो ।
पर्यटकको चहलपहल हुने उक्त क्षेत्रमा ग्राहकको मागलाई लक्षित गरी कम्पनीले भ्वाइस तथा डेटा सेवाको विस्तार गरेको हो । साथै, कतिपय स्थानमा क्षमता अभिवृद्धि तथा गुणस्तर सुधारसमेत गरेको जनाएको छ ।
चुमनुब्री गाउँपालिकाका जगत्, सल्लेरी, सिर्दिबास, बिही, प्रोक, नामरुंग, स्यो, ल्हो, सामागाउँका साथै चीनको सिमानामा पर्ने रुइला नाकाको अन्तिम गाउँ साम्दोसम्म कम्पनीले टुजी सेवालाई फोरजीमा अभिवृद्धि गरेको हो ।
भौगोलिक हिसाबले अत्यन्त विकट मानिएका ती स्थानमा सेवा सञ्चालनसँगै त्यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकलगायत अन्य व्यवसायीले लाभ लिन सक्ने टेलिकमको भनाइ छ । यसले पर्यटकसँग सम्पर्क तथा समस्यामा परेका वेला उद्धार कार्यमा समेत सहजता हुने विश्वास टेलिकमको छ ।