भन्सार राजस्व चोरी तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी

विगत चार वर्षको तुलनामा गत वर्षमा सबैभन्दा बढि साढे चार करोड बढिको अवैध समान बरामद

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण

छिमेकी मुलुक भारतका दुई प्रदेशसँग खुला सीमा जोडिएको कञ्चनपुरमा विगत वर्षौँदेखि चोरी तस्करी भइरहन्थ्यो । 
विगतमा भन्सार, सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको सेटिङ मिलाएर तस्कर समूहले भारतबाट करोडौँका सामान रातारात नेपाल भित्र्याउँथे । तर, अहिले तस्करको यो अवैध सेटिङ, गैरकानुनी धन्दा सशस्त्र प्रहरीले तोडेको छ । 

जिल्लाका सीमावर्ती क्षेत्रमा उपस्थिति विस्तार गरिरहेको सशस्त्र प्रहरीले अवैध भन्सार राजस्व चोरी छली, मानव तस्कर, लागुऔषध ओसारपसारका गैरकानुनी गतिविधि नियन्त्रण एवं समान बरामद गर्दै आएको छ। अवैध सामान भन्सार चलान र लागुऔषध तस्कर, मानव तस्कर प्रहरीमा चलान गर्न सक्रियता देखिएको छ। पछिल्ला चार वर्षमा सशस्त्र प्रहरीले राजस्व संकलन उल्लेख्य प्रगति हासिल गरेको छ । 

कञ्चनपुरको स्थिति सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३५ गण शैलेश्वरीको तथ्यांकअनुसार पछिल्ला चार आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष ०८०/८१ मा चार करोड ७६ लाख, ७९ हजार ४०७ रुपैयाँ बराबरको राजस्व संकलन गरेको उक्त अवैध समान बरामद गरेर भन्सार चलान गरेको हो ।  

आर्थिक वर्ष ०७७/७८मा चार करोड १३ लाख, ३२ हजार नौ सय ९०, आर्थिक वर्ष ०७८/७९ मा दुई करोड ७० लाख, ११ हजार सात सय ८५, आर्थिक वर्ष ०७९/८० मा तीन करोड, २३ लाख, १५ हजार पाँच सय ७७ रुपैयाँबराबरको अवैध समान बरामद गरेर भन्सार चलान गरेको छ । 

गत आर्थिक वर्ष ०८०/८१ मा भारतबाट गैर कानुनी रूपमा भन्सार राजस्व चोरी छली गरेर नेपालमा समान भित्र्याउने, तस्करी गर्ने मानिससमेत पक्राउ परेका थिए । त्यसअघि सामान मात्रै बरामद गर्ने प्रचलन भए पनि यसपटक सशस्त्र प्रहरीले तस्करीमा संलग्न मानिस पनि पक्राउ गरेर कारबाही गर्न थालेको छ । 

सशस्त्र प्रहरी बल नम्बर ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दले भन्सार चोरी तस्करीविरुद्धमा शून्य सहनशीलता नीतिअनुरूप जहाँ तस्करी त्यही अन दी स्पोट एक्सनमा उत्रिएर कारबाही गरिएको बताए । सशस्त्र प्रहरी कञ्चनपुरका एसपी चन्दले गत आर्थिक वर्षमा अवैध समान मात्रै नभई चोरी तस्करीमा संलग्न मानिससमेत पक्राउ गरिएको बताए । एपिएफका एसपी चन्दका अनुसार गत आर्थिक वर्षमा चोरी तस्करीमा संलग्न एक टिपर भ्यान, एक बोलेरो र ८० मोटरसाइकलसमेत बरामद गरिएका छन् । 

सशस्त्र प्रहरीले कञ्चनपुरमा भन्सार चोरी छली गर्ने तस्कर गिरोह मात्रै नभई लागऔषध एवं मानव तस्करसमेत पक्राउ गरेको छ । लागुऔषधसहित २१ र मानव ओसारपसारमा संलग्न २० महिला, १७ पुरुष गरी ३७ मानिस पक्राउ गरेर थप कारबाहीकन लागि नेपाल प्रहरीलाई बुझाएको छ। 

सशस्त्र प्रहरीका एसपी चन्दले कञ्चनपुरको कमान्ड सम्हालेपछि बिओपीपतिदेखि जिल्लाभरका सम्पूर्ण सशस्त्र प्रहरीका कर्मचारी एवं अधिकृतलाई तस्करसँग कुनै हिमचिम होइन, धमाधम अवैध गतिविधि नियन्त्रण गर्न निर्देशन जारी गर्दै आएका छन् । तस्करविरुद्ध निर्मम भएर काम गर्न निर्देशन दिए पनि कुनै सशस्त्र प्रहरीले तस्करसँग अवैध बार्गेनिङ, साँठगाँठ एवं संलग्न भएको पुष्टि भए सो सशस्त्र प्रहरी कर्मचारी अधिकृतलाई कारबाहीको चेतावनी दिँदै आएका छन् । 

चोरी तस्करीविरुद्धमा सशस्त्र प्रहरीले सक्रियता देखाएकै कारण राज्यको करोडौँ रकम राजस्व चोरीछलीबाट जोगिँदै आएको छ। सीमावर्तीका स्थानीय नागरिकले समेत हरेक वर्ष समयमा सशस्त्र प्रहरीले मातृभूमिक रक्षादेखि राजस्व चोरीतस्करी, सीमा क्षेत्रमा हुने मानव, लागुऔषध तस्करीजस्ता गतिविधि निर्मम रूपमा नियन्त्रण गर्नुपर्नेमा सुझाव दिर्दै आएका छन्। 
 

सुझावित समाचार