न्यूनतम साझा कार्यक्रम, सरकारको प्रभावकारिता र संविधान संशोधनमा विमर्श
प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच न्यूनतम साझा कार्यक्रम, सरकारको प्रभावकारिता र संविधान संशोधनका विषयमा छलफल भएको छ । सरकार बनेपछि ओली र देउवाबीच सरकार सञ्चालन र संविधान संशोधनका विषयलाई लिएर भएको यो पहिलो ‘वान अन अन’ भेटवार्ता हो ।
नेताद्वयबीचमहत्वपूर्ण नियुक्ति, दैनिक प्रशासन सञ्चालन र अन्य विषयमा स्वार्थ बाझिन नदिन दुई मुख्य नेताबीच निरन्तर संवाद र समन्वय गर्ने समझदारी छ । तर, कांग्रेसका महामन्त्रीद्वयले प्रधानमन्त्री ओली जोडिएका केही मुद्दालाई सदनमा उठाइरहेका छन् । कांग्रेस सभापति देउवासँग शनिबार भएको भेटबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । ‘नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो । केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए । सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए,’ भेटबारे ओलीले भनेका छन् ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेताद्वयबीच संविधान संशोधन र न्यूनतम साझा कार्यक्रममार्फत सरकारका प्राथमिकता तय गरेर अघि बढ्नेलगायत विषयमा छलफल भएको बताए । उनका अनुसार सरकार बनेपछि नेताद्वयबीच मात्र भेट भएको यो नै सम्भवतः पहिलो हो ।
‘उहाँहरूबीच समग्र सरकार सञ्चालनको विषयमा छलफल भयो । भर्खरै टिआरसी विधेयकका विषयमा सहमति जुटेको छ । प्रदेशमा सरकार बन्ने र पूर्णताको काम सकिएका छन् । सबै मन्त्रालसँग सयदिने कार्ययोजना मागिएको छ । यीसहित सरकारलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो,’ उनले नयाँ पत्रिकासँग भने, ‘संविधान संशोधनको विषयमा छलफल भएको छ । न्यूनतम साझा कार्यक्रमको विषयमा पनि गृहकार्य भइरहेको छ ।’
कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले समसामयिक राजनीतिक विषय र गठबन्धनका प्राथमिकताबारे छलफल भएको बताए । ‘दुई नेताबीचको आपसी छलफलअनुसार नै अगाडि बढ्ने समझदारी हो । सोहीअनुसार उहाँहरूबीच भेट भयो । भेटमा न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन र प्रदेशका बाँकीसहित सहमतिका विषय कार्यान्वयन गरेर लैजाने विषयमा छलफल भयो,’ उनले भने ।