साउनमा बजेट खर्चभन्दा राजस्व संकलन दोब्बर

शनिबार, १ भदौ, २०८१
डिजिटल संस्करण

चालू आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व संकलन दोब्बर देखिएको छ। महालेखानियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख रुपैयाँबराबर बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख रुपैयाँबराबर राजस्व उठेको हो। चालू आवको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको दुई दशमलव १६ प्रतिशत र आम्दानी ६ दशमलव ५९ प्रतिशतबराबर हो।

एक महिनामा चालूतर्फ १२ अर्ब ३८ करोड २२ लाख अर्थात् वार्षिक लक्ष्यको एक दशमलव ०९ प्रतिशत र पुँजीगततर्फ आठ अर्ब ५५ करोड ४८ लाख अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४३ प्रतिशतबराबर छ। त्यस्तै, पुँजीगततर्फ वार्षिक लक्ष्यको पाँच दशमलव २५ प्रतिशत अर्थात् रु. १९ अर्ब २७ करोड ६ लाखबराबर खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले चालूतर्फ रु. ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख, पुँजीगततर्फ रु. तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख र वित्तीय व्यवस्थातर्फ रु. तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाखबराबर विनियोजन गरेको छ।

सरकारले चालू आर्थिक वर्षका लागि रु. १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाखबराबर राजस्व उठाउने लक्ष्य छ। कर राजस्व रु. १२ खर्ब ८४ अर्ब २० करोड, गैरकर राजस्व रु. एक खर्ब ३५ अर्ब र वैदेशिक अनुदान रु. ५२ अर्ब ३२ करोड ६५ लाखबराबर उठाउने लक्ष्य छ। चालू आर्थिक वर्षको पहिलो महिना सरकारले वैदेशिक अनुदान लिएको छैन। साउन महिनाको कुल संकलित राजस्वमध्ये कर राजस्व रु. ७७ अर्ब ४१ करोड २७ लाख र गैरकर राजस्व रु. १७ अर्ब ३३ करोड  छ।

सुझावित समाचार