जलेश्वर नगरपालिका- ५ निवासी गफुर राइन भन्ने व्यक्तिलाई केही दिनअघि धम्कीपूर्ण भाषा प्रयोग गरी पत्र लेखेर ९२ हजार रुपैयाँ माग गरेका दुईजना युवालाई प्रहरीले पक्राउ गरेको छ।
रामगोपालपुर नगरपालिका- ५ कञ्चनपुर घर भई हाल जलेश्वर नगरपालिका- १ मा डेरा गरी बस्ने वर्ष २४ का सुनीलकुमार राउत र सोही ठाउँ निवासी वर्ष १९ का करण मण्डललाई प्रहरीले जलेश्वरनाथ महादेव मन्दिरअगाडिबाट शनिबार बिहान पक्राउ गरेको हो।
चिठीमार्फत फिरौती रकम माग गर्दै सोही रकम महादेव मन्दिरको छेउमा रहेको फोहोर फ्याक्ने भाँडोमा राख्न भनेकोमा पीडितले प्रहरीलाई पूर्वजानकारी गराई प्लास्टिकमा कागज पोको पारी सोही फोहोर फाल्ने भाँडोमा राखेका थिए।
आरोपीहरू सोही पोको निकाल्न खोज्दा लुकेर बसेका सुरक्षाकर्मीले उनीहरूलाई तत्काल नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याएको थियो। यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक धर्मराज मुड्भरीले अनुसन्धान भइरहेको बताए।