चरिकोटमा बृहत् लाखे महोत्सव हुने, सात जिल्लाका लाखेनाच प्रदर्शनको तयारी

शुक्रबार, ३२ साउन, २०८१
डिजिटल संस्करण

दोलखा सदरमुकाम चरिकोटमा बृहत् लाखेनाच महोत्सव हुने भएको छ।
आगामी ६ भदौमा दोलखालगायत विभिन्न सात जिल्लाको लाखेनाच प्रदर्शन गर्ने गरी लाखे महोत्सव हुने भएको हो। 

स्थानीय तहको सहयोगमा लालीगुराँस युवा क्लब चरिकोटले लाखेनाच प्रदर्शनी कार्यक्रम गर्न लागेको जनाइएको छ। लालीगुराँस युवा क्लबले चरिकोट गुठीको सहकार्यमा प्रत्येक वर्ष गठेमंगलदेखि कृष्ण जन्माष्टमीको भोलिपल्टसम्म चरिकोट बजारमा लाखेनाच प्रदर्शन गर्दै आएको छ। 

झन्डै डेढ सय वर्षअघि चरिकोट पुरानो बजारमा नेवार समुुदायको बसोवास सुरु भएपछि विभिन्न पर्व तथा जात्राको सुरुवात भएको हो।

ऐतिहासिक दोलखा सहरमा प्रदर्शन गरिने लाखेनाचको सिको गर्दै ०१६ सालबाट सदरमुकाम चरिकोटमा समेत लाखेनाच प्रदर्शन सुरु गरिएको चरिकोट गुठीका अध्यक्ष रामदास श्रेष्ठले बताए।

सदरमुकाम चरिकोटमा लाखेनाच प्रदर्शनअघि गठेमंगल (घण्टाकर्ण) को बेलुका नाट्यश्वरीको पूजा गरेर परालको राक्षस बनाई बजार घुमाएर चोकमा जलाउने प्रचलन रहेको छ। 

घण्टाकर्ण राक्षसले बच्चालाई दुःख दिने गरेकाले यसरी गठेमंगल (घण्टाकर्ण) को दिन त्यसलाई सबैको अगाडि जलाइएको किंवदन्ती पाइन्छ। त्यसरी घण्टाकर्णको दिन परालको राक्षसलाई जलाएपछि भोलिपल्टबाट लाखेनाच प्रदर्शन गरिने र कृष्ण जन्माष्टमीको भोलिपल्ट राति १२ बजे कृष्णले चक्रले हानेर लाखेलाई मारेपछि एक वर्षका लागि लाखेनाच अन्त्य गरिने प्रचलन रहेको लालीगुराँस युवा क्लबका सचिव विपिन श्रेष्ठले जानकारी दिए।

क्लबले चरिकोटमा प्रदर्शन गरिने लाखेनाचलाई जिल्लाको जिरी, मैनापोखरी, किर्नेटार, मागादेउराली, सिँगटी, काठमाडौंको मच्छेगाउँ र चितवनमा समेत प्रदर्शनका लागि लगेको र सोही क्रममा यो वर्ष अन्य जिल्लाको लाखेनाचसमेत चरिकोटमा प्रदर्शनका लागि ल्याउने कार्यक्रम बनेको सचिव श्रेष्ठको भनाइ छ। 

लालीगुराँस युवा क्लबले शुक्रबार सदरमुकाम चरिकोटमा आयोजित पत्रकार सम्मेलनमा बृहत् लाखेनाच महोत्सवको तयारी तीव्र ढंगले अघि बढेको जनाएको छ।

चरिकोटमा विभिन्न जिल्लाको लाखेनाच प्रदर्शन गर्दा सांस्कृतिक आदान–प्रदानसँगै सदरमुकामको आर्थिक विकासमा समेत टेवा पुुग्न सक्ने उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य रामेश्वर मानन्धरको भनाइ छ। 

सुझावित समाचार