लुम्बिनीका विहारमा होटल सञ्चालन विवाद : विहार सञ्चालनको कार्यविधि बनाउन नौ सदस्यीय समिति गठन

शुक्रबार, ३२ साउन, २०८१
डिजिटल संस्करण

लुम्बिनी विकास कोषभित्र रहेका विहारहरू सञ्चालनका लागि कार्यविधि बनाइने भएको छ। 

कोषभित्र रहेका विहारहरूले विदेशी पर्यटकहरू होटेलसरह सुविधा दिएर राख्ने गरेको भन्दै नयाँ पत्रिका दैनिकले समाचार प्रकाशन गर्दै आएको थियो। 

समाचार प्रकाशनमा आएलगत्तै लुम्बिनी होटेल संघले चरणबद्ध आन्दोलन गर्दै आएकोमा लुम्बिनी विकास कोष विहार सञ्चालन गर्न कार्यविधि बनाउन सहमत भएको हो। 

बुधबार लुम्बिनी विकास कोषका पदाधिकारीहरू र लुम्बिनी होटेल संघका पदाधिकारीहरूबीच भएको छलफलबाट विहार सञ्चालनको कार्यविधि बनाउन नौ सदस्यीय समिति गठन गर्ने सहमति भएको लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिए।

समितिमा लुम्बिनी विकास कोषबाट तीनजना, होटेल संघबाट दुईजना, बिहारहरूबाट दुईजना, लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट एकजना, जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट एकजना सदस्य रहने संघका अध्यक्ष ज्ञवालीले बताए।

‘अब समितिले बनाएको कार्यविधिमा रहेर विहार सञ्चालन हुने छन्, लुम्बिनी होटेल संघले गरेको आन्दोलनले सार्थकता पाएको छ,’ ज्ञवालीले भने, ‘लामो आन्दोलनको प्रतिफल प्राप्त हुने अवस्थामा पुगिएको छ।’

आगामी सातादेखि लुम्बिनी विकास कोषभित्र बस प्रवेशलाई पूर्ण प्रतिबन्द लगाउने सहमति पनि भएको ज्ञवालीले बताए।

लुम्बिनी विकास कोषभित्र रहेका विहारहरूले होटेलसरह सुविधा दिएर पर्यटक राखेपछि लुम्बिनी होटेल संघसँग सम्बद्ध होटेल व्यवसायीहरू आन्दोलित बनेका थिए । उनीहरूले लुम्बिनी विकास कोषमा ज्ञापनपत्र बुझाउँदै समस्या समाधान नगरे आत्मदाह गर्नेसम्मको चेतावनी दिएका थिए । १२ वर्षदेखि यही माग राख्दै आएका व्यवसायीहरूको माग अहिले आएर सम्बोधनको नजिक पुगेको लुम्बिनी होटेल संघका महासचिव पुरुषाेत्तम अर्यालले बताए। 

लुम्बिनीमा करिब ९५ भन्दा बढी होटेल रहेकोमा १५ वटा बन्द भइसकेका छन् भने १५ भन्दा बढी होटेल बन्द हुने अवस्थामा छन्। लुम्बिनीमा होटेल क्षेत्रमा मात्र सात अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। 

लुम्बिनीभित्र रहेका थाई, चाइना, कोरिया, म्यानमार, कम्बोडियालगायतका विहारहरूले पर्यटकहरू राख्दै आएका छन्। हरेक विहारमा एकपटकमा एक सयदेखि चार सय पर्यटकलाई एकैपटक व्यवस्था गर्न सकिनेछ।

लुम्बिनी गुरुयोजनामा एक विहारमा एकजना पुजारी र तिनलाई स्याहारसुसार गर्न आवश्यक केही व्यक्ति बस्न मिल्ने चार कोठासम्मको भवन निर्माण गर्न सक्ने उल्लेख छ। तर, लुम्बिनी विकास कोषभित्र रहेका विहारहरूले गुम्बा निर्माणभन्दा पनि होटेल शैलीमा बस्ने भवन निर्माणलाई तीव्रता दिँदै आएका छन्। 

सुझावित समाचार