नीलकण्ठ नगरपालिकाद्वारा २४६ विद्यार्थीलाई छात्रवृत्ति

शुक्रबार, ३२ साउन, २०८१
डिजिटल संस्करण

नीलकण्ठ– ११ धादिङका सुनील सुनार अहिले मणिपाल क्याम्पस पोखारामा एमबिबिएस पढ्दै छन् । दुई वर्ष पहिले नाम निस्के पनि आर्थिक अभावकै कारण उनले पढ्न पाएनन् । गत वर्ष छात्रवृत्तिस्वरूप नीलकण्ठ नगरपालिकाले दिएको ८० हजार रुपैयाँले डाक्टर बन्ने सपना जोडेको बताउँछन् । 

‘आर्थिक अभावकै कारण पढ्न नपाएको तितो अतीत बिर्सन सकेको छैन । सात वर्षको हुँदा बुबा गुमाएँ । निकै दुःख गरेर मलाई आमाले हुर्काउनुभयो । दुःखैदुःखमा हुर्केको मलाई भोलिको भविष्य सुन्दर बनाउन नगरपालिकाले दिएको ८० हजारले डाक्टर पढ्न आँट गरेँ,’ उनले भने, ‘मेडिकल यात्रा पैसाविना सम्भव छैन । छात्रवृत्तिमै पढेपछि ६० लाख तिर्न नपर्ने हो । तर, बाँकी खानपिन, कोठाभाडा, परीक्षा शुल्कलगायत शीर्षकमा थुप्रै रकम खर्च हुन्छ । यस वर्ष पनि छात्रवृत्तिस्वरूप नीलकण्ठ नगरपालिकाबाट एक लाख रुपैयाँ पाएँ । नगरपालिकाको यो छात्रवृत्ति मेरो लागि एकदमै ठूलो सहयोग बनेको छ ।’ 

नीलकण्ठ नगरपालिका– १४ का प्रकाश मल्ल पनि काठमाडौंमा रहेको नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्समा एमबिबिएस पढ्दै छन् । आर्थिक अवस्था कमजोर भए पनि सानैदेखि सामाजिक कार्य गर्न रुचाउने र परिवारको चाहनाले डाक्टर पढेको उनले बताए । ‘आर्थिक अवस्था कमजोर छ । डाक्टर पढ्न मोटो रकम लाग्छ पनि थाहा छ । तर, नरोपी फल्दैन भनेर एमबिबिएस पढ्न थालेँ,’ उनले भने, ‘करिब डेढ वर्षदेखि एमबिबिएस पढिरहेको छु । नगरपालिकाले छात्रवृत्तिस्वरूप दिएको एक लाख रुपैयाँले ठूलो सहयोग पुगेको छ । निरन्तर रूपमा छात्रवृत्ति पाए हामीजस्ता गरिब विद्यार्थीका लागि ठूलो राहत मिल्नेछ ।’ 

धादिङको नीलकण्ठ नगरपालिकाले आइतबार एक कार्यक्रमबिच २४६ जना दलित, गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो। १२७ जना दलित र ११९ जना गरिब तथा जेहेनदार विद्यार्थीलाई अध्ययनरत विषयको आधारमा ६ हजारदेखि एक लाख रुपैयाँसम्म गरी २३ लाख रुपैयाँबराबरको छात्रवृत्ति वितरण गरिएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बताए ।  

शिक्षालाई सहज रूपमा सबैको पहुँचमा पुर्याउन छात्रवृत्ति वितरण गरिएको नीलकण्ठ नगरपालिकाका प्रवक्ता प्रकाश श्रेष्ठले बताए । ‘कापी, कलम र परीक्षा शुल्क तिर्न नसकेर आत्महत्या गरेका घटना ताजै छन् । मानिसको भविष्य बनाउन शिक्षा पहिलो आवश्यकता हो । अस्पताल, खानेपानी, भौतिक संरचनालगायतका कामस्तै निःशुल्क शिक्षा र छात्रवृत्ति कार्यक्रम ल्याएको हो,’ उनले भने । 

नीलकण्ठ नगरपालिकाले शिक्षामा ठूलो लगानी गरेको नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले बताए । ‘दलितहरूको संघसंगठनले विगत चार वर्षदेखि निःशुल्क शिक्षाका लागि माग र आन्दोलन गर्दै आएका थिए । गत आर्थिक वर्षदेखि कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिएको छ,’ उनले भने, ‘यो आर्थिक वर्षमा शिक्षामा मात्रै नौ करोडभन्दा माथि बजेट छुट्याएका छौँ । उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि २३ लाख रकमबराबरको छात्रवृत्ति दियौँ । यो आर्थिक वर्षमा छात्रवृत्तिका लागि २० लाख रकम रहेको छ । नागरिकको अवस्था र व्यवस्था परिवर्तनका लागि शिक्षामा लगानी गरेका हौँ ।’

नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले स्थानीय सरकार घरआँगनको सरकार भएकाले नागरिकको आवश्यकता र माग हेरी लगानी गर्दै आएको बताए । ‘संघीय सरकार भनेको टिभीमा देखिने सरकार हो । प्रदेश सरकार रेडियोमा सुनिने सरकार हो। तर, स्थानीय सरकार जनताको घरआँगनको सरकार हो,’ उनले भने, ‘नीलकण्ठ नगरपालिकाले सबैभन्दा बढी शिक्षामा लगानी गरेको छ। नीलकण्ठ नगरपालिकाका कुनै पनि विद्यार्थी आर्थिक अभावका कारण शिक्षाको पहुँचबाहिर हुने छैनन् ।’

सुझावित समाचार