‘एन्थ्रोपोसिन’मा सिक्नु भनेको विशेष सिपको खोजी नभई हाम्रो आफ्नै मानवताको पुनः खोजी गर्नु हो
शिक्षाले युवालाई आफ्नो समयका चुनौतीको सामना गर्न तयार गर्नुपर्छ । बदलिँदो विश्वसँग तालमेल मिलाउनका लागि शिक्षालाई समायोजन गरिरहनुपर्छ । तर विडम्बना, हाम्रो शिक्षा प्रणाली समयको तालमेलबाहिर गएको छ । वातावरणीय क्षय आज मानवजातिको सबैभन्दा ठूलो चुनौती हो । यद्यपि, ग्रहमा जीवन तीव्र रूपमा परिवर्तन भइरहेका सन्दर्भमा शिक्षा प्रणाली युवालाई तयार गर्न सफल भइरहेका छैनन् । यस्तो परिस्थितिबारे थाहा पाउने एउटा उपाय भनेको हामीले बाँचिरहेको समयबारे हाम्रो दृष्टिकोण परिवर्तन गर्नु हो । २१औँ शताब्दीको सट्टा हामी आफूलाई ‘एन्थ्रोपोसिन’मा बाँचिरहेको रूपमा सोच्न सक्छौँ ।
एन्थ्रोपोसिन एक प्रस्तावित नयाँ भूवैज्ञानिक युग हो अर्थात् भौगोलिक समय मानकको एक एकाइ हो, जहाँ प्राकृतिक वातावरणमा अभूतपूर्व ढंगले मानवीय प्रभाव हुने गर्छ । सन् २०२४ मा भूगर्भविद्को एक टोलीको असहमतिको निर्णयका बाबजुद एन्थ्रोपोसिनले अझै पनि पृथ्वीको पारिस्थितिकीय प्रणाली र जलवायुमा मानिसको गहिरो प्रभावलाई पहिचान गर्न एक आकर्षक ढाँचाको रूपमा काम गर्छ । यसले वातावरणीय जिम्मेवारी र ग्रहमा मानव गतिविधिको दीर्घकालीन परिणामबारे हाम्रो बुझाइलाई आकार दिइराख्छ । हाम्रो युगलाई २१औँ शताब्दीको सट्टा एन्थ्रोपोसिनका रूपमा हेर्दा हामीलाई सहस्राब्दीभरि ग्रहमा हाम्रा कामको दिगो प्रभावमाथि विचार पुर्याउन बाध्य बनाउँछ । यसले हाम्रो दृष्टिकोणलाई छोटो अवधिको मानव अनुभवबाट पृथ्वीमा हाम्रा गतिविधिको स्थायी नतिजातर्फ स्थानान्तरण गर्छ, अर्थात् हाम्रो समयअघि र हामीपछिका पुस्ताका समयतर्फ हाम्रो ध्यान केन्द्रित गर्छ । उदाहरणका लागि यो परिप्रेक्ष्यले हामीलाई अर्को शताब्दी वा सहस्राब्दीमा समुद्रको सतह बढ्दा हाम्रा तटीय सहरलाई कसरी पुनः आकार दिन सक्छ र सम्भावित रूपमा बदलिएको वातावरणमा भावी पुस्ताका लागि जीवन कस्तो हुन सक्छ भनेर विचार गर्न प्रेरित गर्छ ।
फरक ढंगको शिक्षण: हालैका शिक्षा नीति प्रायः ‘२१औँ शताब्दीका सीप’मा केन्द्रित भएका छन् । यो नीति एउटा यस्तो विचार हो, जसले नयाँ सञ्चार प्रविधिका लाभ र कमजोरीको खोजी गर्ने जस्ता अन्तरसम्बन्धित उत्तर–औद्योगिक समाजले ल्याएका नयाँ चुनौतीमा जोड दिन्छ । ‘आलोचनात्मक चिन्तन’, ‘सहयोग’ वा ‘सिर्जनशीलता’ जस्ता अवधारणा विश्वभरका धेरै शिक्षा प्रणालीमा बढ्दो रूपमा प्रभावकारी भएका छन् । तर, यस दृष्टिकोणमा समस्या छन् । यसले अर्थतन्त्रलाई वृद्धि गर्नका लागि मात्रै सिकाइको प्रयोग गर्छ । ‘२१औँ शताब्दीका सीप’को अहिले निकै वस्तुकरण भएको छ र हामी यी सीपलाई रोजगार बजारको टिकटका रूपमा मात्रै सोचिरहेका छौँ । हाम्रो समाजको अन्तर्निहित मूल्यमान्यता र अभ्यासमा गहिरो प्रतिबिम्ब र बुझाइलाई प्रोत्साहन गर्नुको सट्टा आलोचनात्मक चिन्तनलाई ‘असीमित विकासका लागि गरिने समस्या समाधान’का रूपमा बुझाइ निर्माण हुँदै गइरहेको छ । यो परिवर्तनले चिन्तनको विचारलाई साँघुरो बनाइरहेको छ, अर्थात् यसले वास्तविक सामाजिक आलोचनाको सम्भावनालाई सीमित गरिरहेको छ ।
दीर्घकालीन भविष्यमाथि विचार गर्नका लागि शिक्षालाई पुनस्र्थापित गर्नु भनेको पर्यावरणीय ह्रास जस्ता गम्भीर चुनौतीलाई सम्बोधन गर्न २१औँ शताब्दीको शिक्षाको अपर्याप्ततामा परिवर्तन ल्याउनु हो । यसले गहिरो र थप अग्रगामी दृष्टिकोणको आवश्यकतामा जोड दिन्छ । मेरो अनुसन्धान एन्थ्रोपोसिनका लागि उपयुक्त शिक्षा कस्तो हुन सक्छ भन्नेमा केन्द्रित छ । अहिले यस्तो किसिमको शिक्षा अभ्यास प्रायः विद्यालयका पर्खालबाहिर देख्न सकिन्छ । उदाहरणका लागि भुइँतहका वातावरणीय आन्दोलनलाई लिन सकिन्छ । मेरो अनुसन्धानमा म विद्यालयले यी ‘वैकल्पिक’ सिकाइका ठाउँअनुसार सान्दर्भिक रहिरहने हो भने यी सिकाइबाट प्रेरणा लिनुपर्छ भन्ने तर्क गर्छु । विभिन्न अभियन्तासँगको मेरो अनुसन्धानले मलाई एन्थ्रोपोसिनमा सिक्नु भनेको विशेष सीपको खोजी नभई हाम्रो आफ्नै मानवताको पुनः खोज गर्नु हो भन्ने सिकाएको छ । यसका लागि हामीले सिकेको विषयसँग भावनात्मक सम्बन्ध चाहिन्छ । हाम्रो प्रजातिको अस्तित्वलाई नै दाउमा राख्ने एन्थ्रोपोसिन युगबारेमा बुझाइ निर्माण गर्दा हामीलाई भविष्यबारे गम्भीर रूपमा हेरचाह गर्न बाध्य बनाउँछ ।
भावनायुक्त सिकाइ: भावनात्मक प्रतिक्रियाले विभिन्न सम्भावित भविष्यबारे हाम्रो कल्पनालाई प्रज्वलित गर्छ, जुन हामी साझेदारी र कार्यमार्फत अरूसँग अन्वेषण गर्छौं । यसले एक निरन्तर चक्र सिर्जना गर्छ । जब हामी सँगै काम गर्छौं र हाम्रा विचार लागू गर्छौं, तब हामी नयाँ ज्ञान पत्ता लगाउन सक्छौँ, जसले भविष्यको हाम्रो दृष्टिकोणलाई चुनौती दिन्छ र परिष्कृत गर्छ । खोज र सिकाइको यस प्रक्रियाले हामीलाई हाम्रा विचार परिमार्जन एवं यसमाथि संवाद गर्न तथा निरन्तर सहयोग र अनुकूलन गर्न प्रोत्साहन गर्छ ।
आर्थिक वृद्धिमा योगदान पुर्याउने लक्ष्यको सट्टा यो प्रक्रियामा शिक्षाको लक्ष्य हामीलाई जटिल समस्या बुझ्न, तिनका बारेमा काम र संवाद गर्न तथा परिवर्तन गर्न चाहने प्राणी बनाउँछ । अर्थात्, यसको उद्देश्य हाम्रो प्रकृतिलाई महसुस गर्न मद्दत गर्नु हो । यसको अर्थ हाम्रो मानवताका यी पक्षलाई महसुस गर्ने क्षमताको बाटोमा आउन सक्ने अवरोधलाई हटाउनु हो । एन्थ्रोपोसिनका लागि शिक्षा अत्यन्त उपयुक्त छ । अर्थात्, शिक्षा मानव हुनुको सार र भविष्यलाई आकार दिन हाम्रो भूमिका बुझ्नकै लागि पनि यो आवश्यक छ ।
(सुटोरिस लिड्स विश्वविद्यालयका जलवायु एवं विकासका लेक्चरर हुन्)
द कन्भर्सेसनबाट