थाक्सिन सिनावात्राकी ३७ वर्षीया छोरी प्रधानमन्त्री उम्मेदवार

पेटोङटार्न प्रधानमन्त्री चुनिइन् भने पिता थाक्सिन र फुपू यिङलकपछि थाइल्यान्डको प्रधानमन्त्री बन्ने सिनावात्रा परिवारकी तेस्री सदस्य हुनेछिन्

शुक्रबार, ३२ साउन, २०८१
डिजिटल संस्करण

थाइल्यान्डको सत्तारुढ फेउ थाई पार्टीले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी ३७ वर्षीया छोरी पेटोङटार्न सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा छनोट गरेको छ । थाइल्यान्डको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदीय दायित्वको उल्लंघन गरेको आरोपमा बर्खास्त गरेको एक दिनपछि बिहीबार पार्टीले यो घोषणा गरेको हो । श्रेथा एक वर्षभन्दा कम समयमा नै अदालतको आदेशमा पदमुक्त भएका छन् । 

‘हामीले पेटोङटार्न सिनावात्रालाई प्रधानमन्त्री मनोनीत गर्ने निर्णय गरेका छौँ,’ पार्टीका महासचिव सोरावोङ थिएन्थोङले बैंककमा आयोजित पत्रकार सम्मेलनमा भने । पेटोङटार्नलाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्ने कि नगर्नेमा सांसदहरूले शुक्रबार संसद्मा मतदान गर्नेछन् । थाई राजनीतिले दुई दशक लामो अस्थिरताको सामना गरेको छ । अस्थिरतालाई विद्रोह, सडक प्रदर्शन र अदालतको आदेशले चिह्नित गरेको छ । यो अवधिको अधिकांश समय थाक्सिनसँग सम्बन्धित प्रगतिशील पार्टीविरुद्ध सेना र राजावादी समर्थक संस्थापनद्वारा लामो समयदेखि चलिरहेको संघर्षले बढावा पाएको छ । 

गठबन्धनको पनि समर्थन
प्रतिनिधिसभाको शुक्रबारको बैठकले फेउ थाई पार्टीकी नेता पेटोङटार्न सिनावात्रालाई देशको भावी प्रधानमन्त्री चयन गर्न सत्तारुढ गठबन्धनमा रहेका सबै दल एकजुट भएका छन् । यदि उनको मनोनयन स्वीकृत भएमा ३७ वर्षीया पेटोङटार्न थाइल्यान्डको इतिहासकी सबैभन्दा कान्छी प्रधानमन्त्री बन्नेछिन् । 

पेटोङटार्न प्रधानमन्त्री चुनिइन् भने उनी पिता थाक्सिन र उनकी फुपू यिङलकपछि प्रधानमन्त्री बन्ने सिनावात्रा परिवारकी तेस्री र फेउ थाई पार्टीकी चौथो सदस्य हुनेछिन् । थाक्सिनका जेठान सोमचाई वोङसावतले पनि सन् २००८ मा छोटो समयका लागि प्रधानमन्त्रीको भूमिका निभाएका थिए ।

फेउ थाई पार्टीकी प्रधानमन्त्री उम्मेदवारको रूपमा पेटोङटार्नको चयन धेरैका लागि आकस्मिक खबरका रूपमा आएको थियो । यसअघि बुधबार साँझ थाक्सिनको निवासमा बसेको गठबन्धनका प्रमुख नेताहरूको बैठकले पूर्वन्यायमन्त्री तथा महान्यायाधिवक्ता ७५ वर्षीय चाइकासेम नितिसिरीलाई छनोट गर्ने निर्णय गरेको थियो । तर, बिहीबार बिहान गठबन्धन पार्टीहरू र धेरै फेउ थाई सांसदहरूबाट चाइकासेमको मनोनयनको विरोध भएको समाचार आउन थाल्यो । 

फेउ थाईको रणनीति प्रमुख हुँदा उनले ‘लेस म्याजेस्टे’ कानुनलाई संशोधन गर्न समर्थन जनाएको विषयले पछि समस्या पर्न सक्ने बहस सुरु भयो । संसद्को सबैभन्दा ठूलो दल मुभ फर्वार्ड पार्टीले यही कानुनको विरोध गरेको आरोपमा खारेजी भोगेको छ । सो पार्टीले फौजदारी संहिताको दफा ११२ लाई संशोधन गर्नुपर्ने माग राखेको थियो । उक्त माग संवैधानिक राजतन्त्रविरुद्ध भएको भन्दै संवैधानिक अदालतले पार्टी नै विघटन गरिदियो । विरोधबीच बिहीबार दिउँसो फेउ थाई कार्यकारी बोर्डले पेटोङटार्नलाई पार्टीको उम्मेदवारको रूपमा चयन गर्यो । 

मनोनयपछि पत्रकार सम्मेलन गर्दै उनले यस अवसरका लागि फेउ थाई पार्टी र गठबन्धन पार्टीलाई धन्यवाद दिँदै राष्ट्रलाई आर्थिक संकटबाट बाहिर ल्याउन सक्दो प्रयास गर्ने प्रतिक्रिया दिइन् । साथै उनले निवर्तमान प्रधानमन्त्री श्रेथालाई कठोर परिश्रमका बाबजुद सत्ताबाट हटाइएकोमा दुःख व्यक्त गरिन् ।

पत्रकार सम्मेलनमा पेटोङटार्नप्रति समर्थन जनाउन भुमजाइथाई, पलाङ प्रचारथ, चारथाइपट्टना, प्रचात, चार्ट पट्टाना क्ला, सेरिरुआम्थाई र थाई रुम्फालाङ पार्टीका नेता पनि उपस्थिति भएका थिए । ४९३ सिटको संसद्मा गठबन्धनसँग कुल ३१४ सांसद छन् ।

सुझावित समाचार