आर्याको जिएमपी सर्टिफिकेट निलम्बन

बिहिबार, ३१ साउन, २०८१
डिजिटल संस्करण

औषधि व्यवस्था विभागले आर्या फर्मा ल्याब प्रालिको गुण म्यानिफ्याक्चरिङ प्राक्टिस (जिएमपी) सर्टिफिकेट निलम्बन गरेको छ । अनुगमनका क्रममा मापदण्ड पूरा नभएको पाइएको भन्दै विभागले जिएमपी निलम्बन गर्ने निर्णय गरेको हो ।

तर, विभागले जिएमपी कहिलेसम्म निलम्बन गरिएको भन्ने स्पष्ट खुलाएको छैन । औषधि गुणस्तरहीन देखिएपछि रिकलको सूचना जारी गर्दै आएको विभागले आर्याको सर्टिफिकेट निलम्बनको निर्णय भने गुपचुप राखेको हो ।

विभागले गत ६ साउनमा वीरगन्ज शाखामा गरेको अनुगमनले आर्याले उत्पादन गरिरहेको भेटेरेनरी उत्पादन पूर्ण रूपमा बन्द गर्नुपर्ने र मानवतर्फका औषधि उत्पादनका लागि दिइएको डब्लुएचओ जिएमपी निलम्बन गर्नुपर्ने सिफारिस गरेको थियो ।

त्यसपछि स्वास्थ्य मन्त्रालयको अनुगमन टोलीले समेत औषधि गुणस्तरहीन भेटिएको भन्दै जिएमपी नै निलम्बनको सुझावअनुसार सर्टिफिकेट निलम्बन गरिएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए ।

यसअघि पनि आर्याले उत्पादन गरेका विभिन्न प्रकारका औषधि गुणस्तरहीन भेटिएको भन्दै विभागले रिकल गरेको थियो । गत १० असारमा मात्रै आर्या फर्मा ल्याबद्वारा उत्पादित सुप्रामोक्स ड्राइसिरप औषधि गुणस्तरहीन पाइएको थियो । यस्तै, २२ चैत ०७९ मा समेत अर्डोक्साइम ५० नामक सेफोडक्साइम सिरप गुणस्तरहीन भएको भन्दै बजारबाट फिर्ता पठाइएको थियो ।
 

सुझावित समाचार