ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ सेकाथुमनजिकैकाे गौथली भिरबाट आएको पहिरोले दुई घर बगाएको छ । पहिराेले स्थानीय छिरिङ ठक्चे शेर्पाको पसल, घर र नजिकैको अलैँची बगानमा ठूलो क्षति पुर्याएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले बताए ।
होटेल सञ्चालकसमेत रहेका शेर्पा बुधबार दिउँसो सदरमुकाम गएको र होटेलमा रहेकी उनकी छोरीसमेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति भएको छैन । बुधबार साँझदेखि अविरल पानी परेको र गएराति करिब २ बजेपछि पहिराेले दुई घर बगाएकाे छ ।
घुन्सा खोलाको पुल बग्याे
बाढीपहिराेले पर्यटकीय गाउँ घुन्सालगायत कञ्चनजंगा आधार शिविर जाने पदमार्गअन्तर्गत घुन्सा खोलाको पुलसमेत बगाएपछि यातायात सम्पर्क टुटेको छ । पहिरोले तल्लो लामाटारमा रहेको घुन्सा खोलाको झोलुंगे पुल बगाएपछि पर्यटकीय घुन्सा गाउँ लगायत (कञ्चनजंघा आधार शिविर जाने बाटो) यातायात अवरुद्ध भएको छ ।
वडाध्यक्ष पेम्बाटासी शेर्पाका अनुसार पहिरो निकै ठूलाे गएकाे छ । पुलमाथिको लठ्ठीबाहेक सबै बगेको छ । पुलनजिकैको पसल पूरै बगाएको छ । घुन्सा खोला निकै ठूलो भएको र पहिरो जाँदै गरेकाले तत्काल केही गर्न सक्ने अवस्था नरहेको वडाध्यक्ष शेर्पाको भनाइ छ । गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले वडाध्यक्ष र स्थानीयसँग समन्वय गरी केही उपाय निकाल्न सकिन्छ कि भनेर अध्ययन भइरहेको बताए ।
घुन्सा खोलाको ८१ मिटर लामो पुलसमेत बगाएपछि ओहोरदोहोरमा समस्या भएको छ । पर्यटकको सिजन सुरु हुँनै लाग्दा पुल बगाएपछि स्थानीय विकल्पको खोजीमा रहेका छन् । उक्त पुल कञ्चनजंगा आधार शिविर जाने पदमार्गमा पर्छ ।