उद्योगीबाट विद्युत् बक्यौता उठाउन खोजेपछि केही व्यक्ति मविरुद्ध लागे : घिसिङ

बिहिबार, ३१ साउन, २०८१
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीबाट विद्युत् बक्यौता उठाउन खोजेपछि केही व्यक्ति आफूविरुद्ध लागेको बताएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै उनले आफ्नो कुनै व्यक्तिगत र नाजायज स्वार्थ नरहे पनि केही मानिस आफूविरुद्ध लागेको बताए ।

पूर्वडिआइजी रमेश खरेलले मंगलबार घिसिङले अनुचित कार्य गरेकोलगायत आरोप लगाउँदै घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए । त्यसको खण्डन गर्दै घिसिङले आफू नाजायज र व्यक्तिगत स्वार्थमा नलागेको उल्लेख गरेका छन् ।

‘मंगलबार सामाजिक सञ्जालमार्फत मेराविरुद्ध सुनियोजित रूपमा दूषित मनसायका साथ सार्वजनिक गरेको विवरण र सोही आधारमा विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषण गरिएका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्, ‘जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति गर्ने, संस्थालाई वित्तीय रूपमा बलियो बनाउने, विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाको विकास तथा विस्तार गरी ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी देशसँगको विद्युत् व्यापार विस्तार गर्नेबाहेक अन्य मेरा कुनै व्यक्तिगत र नाजायज स्वार्थ नरहेको प्रस्ट पार्दछु ।’ आरोपको भ्रममा नपर्न उनले आग्रह पनि गरेका छन् । 

‘इमानदारीपूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बदनाम गराउने दुराशयका साथ लगाइएका आरोपहरूको खण्डन गर्दछु,’ उनले भनेका छन् । पत्रकारिताका सर्वमान्य सिद्धान्त, मूल्य–मान्यता र आचारसंहिताको ठाडो उल्लंघन तथा सञ्चारमाध्यमै दुरुपयोग गरी आफ्नो र परिवारका सदस्यहरूको चरित्रहत्या गरेको घिसिङको दाबी छ । आफैँ न्यायिक निकायजस्तो गरी दोषी करार गर्नु निन्दनीय भएको उनको भनाइ छ ।

उद्योगीबाट विद्युत् बक्यौता उठाउन चलिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्थाले अहिले आफूलाई कमजोर बनाउन लागिपरेको पनि घिसिङले जनाएका छन् । ‘प्राधिकरणले हासिल गरेका प्रगति एवं उपलब्धि र विद्युत् महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था अहिले मलाई कमजोर बनाउन र मनोबल गिराउन मेराविरुद्ध सुनियोजित रूपमा लागिरहेका छन् । प्रचलित सार्वजनिक खरिद कानुनबमोजिम गरिएका खरिद सम्झौताहरू, विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) र अन्य कतिपय असान्दर्भिक विषयहरूलाई उचाल्नुले पनि यही कुरालाई पुष्टि गर्दछ,’ उनले भनेका छन् ।

सुझावित समाचार