विद्युत् आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएको प्रसारणलाइन सञ्जाल ६ हजार सर्किट किलोमिटर पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार गत आर्थिक वर्ष ०८०/८१ सम्ममा ४००, २२०, १३२ र ६६ केभी प्रसारणलाइनको लम्बाइ ६ हजार पाँच सय सात सर्किट किलोमिटर पुगेको हो ।
कुल प्रसारणलाइनमध्ये सबैभन्दा बढी एक सय ३२ केभी चार हजार एक सय ३६ सर्किट किलोमिटर र सबैभन्दा कम ६६ केभी पाँच सय १४ सर्किट किलोमिटर छ । चार सय केभी प्रसारणलाइन ६ सय ४४ सर्किट किलोमिटर छ ।
आव ०७२/७३ सम्ममा दुई हजार नौ सय ११ सर्किट किलोमिटर मात्र प्रसारणलाइन थियो । आव ०७३/७४ मा तीन हजार तीन सय ६४, आव ०७४/७५ मा तीन हजार पाँच सय ३८, ०७५/७६ मा तीन हजार नौ सय ९० र आव ०७६/७७ मा चार हजार दुई सय ६९ सर्किट किलोमिटर प्रसारणलाइन थियो । त्यस्तै, ०७७/७८ मा चार हजार आठ सय ७४, ०७८/७९ मा पाँच हजार तीन सय २९ र ०७९/८० मा पाँच हजार सात सय ४२ सर्किट किलोमिटर प्रसारणलाइन थियो ।
यस्तै, ग्रिड सबस्टेसनको क्षमता १३ हजार ५० एमभिए पुगेको छ । आव ०७२/७३ मा दुई हजार दुई सय २३ एमभिए मात्र रहेको ग्रिड सबस्टेसन क्षमता गत आवसम्ममा १३ हजार ५० पुगेको हो । यसमा ४००, २२०, १३२, ६६ र ३३ केभी क्षमताका सबस्टेसन रहेका छन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्षको अवधिमा प्रसारणलाइन निर्माणमा गुणात्मक फड्को मारिएको बताए । ‘स्थानीयको अवरोध, जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत झन्झट, सडक पनि नभएका भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन क्षेत्रमा काम गर्न निर्माण सामग्री मान्छे, खच्चड र हेलिकोप्टरबाट ढुवानी गर्नुपर्नेजस्ता चुनौतीपूर्ण अवस्थालाई पार लगाउँदै प्रसारणलाइन निर्माणमा उल्लेख्य प्रगति हासिल भएको छ,’ उनले भने, ‘यो अवधिमा ४००, २२० र १३२ केभीका धेरै प्रसारणलाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । एक सय ३२ केभी प्रसारणलाइनबाट चलिरहेको नेपालको राष्ट्रिय प्रणाली हाल चार सय केभी र दुई सय २० केभीबाट चल्न थालेको छ ।’
घिसिङले बुटवलबाट पश्चिम अत्तरियासम्म चार सय केभी प्रसारणलाइन र देशका प्रमुख लोड सेन्टरहरू भएर जाने दक्षिण करिडोर प्रसारणलाइन निर्माण प्रक्रिया अगाडि बढाइएको बताए ।
देशका प्रमुख सहरलाई ११ वटा क्लस्टरमा विभाजन गरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरी कार्यान्वयनमा लगिएको उनले बताए ।
भारतसँगको विद्युत् व्यापारका लागि करिब २५ सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने नयाँ बुटवल–गोरखपुर चार सय केभी दोस्रो अन्तरदेशीय प्रसारणलाइन निर्माणाधीन छ । यता नेपाल–भारतबीचको विद्युत् आयात–निर्यातका लागि आठ वर्षअघि करिब तीन सय ५० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने प्रसारणलाइन क्षमता रहेकोमा हाल करिब दुई हजार मेगावाट पुगेको छ । इनरुवा–पुर्णिया र लम्की–बरेली चार सय केभी प्रसारणलाइन कार्यान्वयनका चरणमा छन् ।