काभ्रे जिल्लामा एक वर्षमा एक सय ३७ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार आर्थिक वर्ष ०८०/८१ मा ४१ पुरुष र ९६ महिलाले आत्महत्या गरेका हुन् । आत्महत्याका लागि विभिन्न तरिका अपनाइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेकी प्रमुखप्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिइन् ।
खड्काले प्रहरीले आत्महत्या न्यूनीकरणका लागि विभिन्न प्रयास गरिरहेको बताएकी छिन् । आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी एक वर्षमा ५६ वटा सचेतना कार्यक्रम सम्पन्न गरेको खड्काले जानकारी दिइन् । सो कार्यक्रममा २२ सय २३ जना सहभागी भएको उनको भनाइ छ ।
काभ्रे जिल्लामा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति र कार्यदल गठन भएको छ । प्रहरी कार्यालय काभ्रेकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा खड्काको संयोजकत्वको समितिमा १८ जना र कार्यदलमा १५ सदस्य छन् । प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडांैको आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना,२०८१ अनुसार समिति तथा कार्यदल गठन भएको हो ।