माओवादीमा तत्काल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नभएको नेताहरूले बताएका छन् । जारी स्थायी समिति बैठकमा मंगलबार बोल्ने अधिकांश नेताले वर्तमान परिवेशमा प्रचण्डको विकल्प नभएको बताएका हुन् । कांग्रेस–एमाले गठबन्धनले देशलाई प्रतिगमनतिर लाने जोखिम बढेको जिकिर गर्दै उनीहरूले ‘अध्यक्षले छोड्न पाउनुहुन्न’ भनेर खबरदारीसमेत गरेको एक पदाधिकारीले बताए ।
‘देशको परिस्थिति गम्भीर मोडमा पुगेको छ । अग्रगमनको नेतृत्व गरेको माओवादीको काँधमा ऐतिहासिक मोडको नेतृत्व गर्ने जिम्मेवारी आएको छ । यस्तो वेलामा अध्यक्षको विकल्प सोच्न सकिँदैन । अहिले अध्यक्षले चाहेर पनि छोड्न पाउनुहुन्न,’ मंगलबार धारणा राख्ने सदस्यहरूको निष्कर्ष प्रस्तुत गर्दै ती पदाधिकारीले भने ।
मंगलबारको बैठकमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल र हरिबोल गजुरेल, सचिवहरू लीलामणि पोखरेल र डिलाराम आचार्य, कोषाध्यक्ष श्रीराम ढकाल, स्थायी समिति सदस्यहरू सत्या पहाडी, खगराज भट्ट, विश्वनाथ साह, निर्वाचन आयोगका संयोजक कुवेर वली र सल्लाहकार समितिका संयोजक नन्दकुमार प्रसाईंले धारणा राखेका थिए ।
नेताहरूले सदन र सडक दुवै मोर्चालाई प्रभावकारी बनाएर जानुपर्नेमा जोड दिएका थिए । ३२ जनाको संख्या थोरै भए पनि गुणात्मक रूपमा प्रभावकारी बनाउने र सडकमा पनि जोड्नुपर्नेमा उनीहरूकोे भनाइ थियो । ‘आन्तरिक अनुशासन मजबुत बनाउनुपर्ने, पार्टीका गतिविधिलाई प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्ने, विचार संश्लेषणको बहसलाई सघन रूपमा अघि बढाउनुपर्ने, नवप्रवर्तनमा जोड दिनुपर्ने, सबै तहका पार्टीपंक्तिमा आर्थिक आत्मनिर्भरताको स्थिति बनाउनुपर्ने विषय आएको छ,’ उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले नयाँ पत्रिकासँग भने । बैठकबाट नयाँ स्पिरिट, प्रतिबद्धता र संकल्प पैदा भएको उनले बताए ।
गत शुक्रबार सुरु भएको बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम सकिएको छ । देशभक्त र प्रगतिशील मोर्चा निर्माण गर्दै अगाडि बढ्ने योजनामा माओवादी छ । समाजवादी मोर्चाका चार दल, माओवादी पृष्ठभूमिका दल, जनमोर्चालगायत सबै वामपन्थी दललाई समेट्ने कोसिसमा माओवादी लागेको छ ।
प्रचण्डले बिहीबार जवाफ दिने
माओवादी अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ बिहीबार दिने भएका छन् । मंगलबारको बैठकको अन्त्यमा प्रचण्डले बैठक जीवन्त र ऊर्जा प्रदान गर्ने खालको भएको बताएका थिए । ‘अहिलेको परिस्थितिलाई अझ राम्रो विश्लेषण गरेर सबै कुरालाई पर्सि जवाफ दिन्छु । त्यसपछि सबै कुरालाई समेटेर प्रस्ताव तयार पार्छु । त्यो प्रस्तावमा फेरि छलफल गरेर व्यवस्थित ढंगले केन्द्रीय समितिमा लगेर पास गरेर नयाँ नीति, नयाँ योजना र कार्यक्रम लिएर जनतामा जानुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भने ।