नेकपा (माओवादी केन्द्र)का सांसद छिरिङ डम्डुल लामा भोटेले गलत कामलाई निरन्तरता दिइरहे अहिलेको सरकार बंगलादेशको मात्रै नभई लुई सोह्रौँको अवस्थामा पुग्ने चेतावनी दिएका छन्।
गरिबको निम्ति काम नगरी सरकारले विद्युत् महसुल बक्यौता छुट दिएर केही ठूला व्यक्तिलाई बचाउन लागेको भन्दै मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले भने, ‘उल्टो उल्टो गर्छ भने बंगलादेश त के लुई सोह्रौँको भन्दा खराब स्थिति आउन सक्छ । त्यसबाट सचेत हुनु सरकार । बेलैमा बक्यौता उठाएर फटाहाहरूलाई ठेगान लगाओस्।’
उद्योगहरूबाट उठाउन बाँकी रकमले सिंगो हुम्ला जिल्लाको विकास गर्न सकिने भन्दै सांसद भोटेले सो रकम गरिबको उपचार, छात्रवृत्तिजस्ता नागरिकको सेवामा खर्च गरिनुपर्ने भए पनि त्यसो नभएको भन्दै चिन्ता व्यक्त गरे।
‘आठ अर्ब २६ करोड विद्युत् बक्यौताले सिंगो हुम्ला जिल्लाको दीर्घकालीन विकास गर्न पर्याप्त पुग्छ । कि त्यहाँ दिए पनि हुन्थ्यो । अर्कोतिर १० लाखको दरले बाँडे पनि आठ हजार २६० गरिब नागरिकको उपचार हुन्थ्यो । त्यहाँ पनि भएन । अर्कोतिर ४० हजार गरिब नागरिकको बच्चालाई छात्रवृत्तिको निम्ति दिए पनि हुन्थ्यो । त्यहाँ पनि भएन,’ उनले भने।