आगलागीजन्य दुर्घटना न्यूनीकरणका लागि पसलमा ‘फायर अलार्म’ राख्न सुझाव

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण

आगलागीजन्य दुर्घटना न्यूनीकरणका लागि आफ्नो व्यावसायिक प्रतिष्ठानमा ‘फायर अलार्म’ राख्न सुझाव दिइएको छ । आफ्नो व्यावसायिक प्रतिष्ठानमा फायर अलार्म राख्दा आगलागी भएको सूचना तत्कालै प्राप्त गर्न सकिने भएकाले सम्भावित क्षतिलाई बचाउन सकिने भन्दै त्यस्तो सुझाव दिइएको हो । 

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले व्यावसायिक क्षेत्रमा हुने आगलागीको कारण तथा विपतपश्चातको व्यवस्थापनमा सरोकारवालाको भूमिकाको विषयमा सोमबार संघको सभाहलमा गरेको प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञहरूले त्यस्तो सुझाव दिएका हुन्। 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपालमा विपतजन्य पूर्वतयारी कमजोर हुँदा विपतजन्य घटनामा धेरै क्षति हुने गरेको धारणा राख्दै विपतजन्य पूर्वतयारीमा जोड दिए । 

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले पछिल्लो समयमा आगलागीका घटना बढ्दै गएको र आगलागीबाट हुने क्षतिमा बिमा कम्पनीहरूबाट हुने दाबी भुक्तानीमा ढिलासुस्तीका कारण व्यवसाय पुनः सञ्चालनमा समस्या भइरहेको बताए ।

उनले आगलागीका घटनाबाट हुने क्षतिलाई कसरी कम गर्ने भन्ने सन्दर्भमा क्षति न्यूनीकरणका लागि स्थानीय साधन, स्राेतको पहिचान र परिचालन कसरी गर्ने ? क्षतिपछिको पुनर्स्थापनाका लागि बिमा, विपत् व्यवस्थापन कोषको उपयोगको सहज पहुँच र प्रक्रिया के–के हुन् ? अग्निपीडितहरूलाई कसरी तत्काल उद्योग तथा व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्न सकिन्छ ? विपतपछिको कर तथा राजस्वको फर्स्याेट कसरी हुन्छ ? भन्नेजस्ता अनगिन्ती प्रश्नको जवाफ खोज्नका लागि कार्यक्रम आयोजना गरिएको बताए । 

कार्यक्रममा नेको इन्स्योरेन्सका सहायक सिइओ रमेशबहादुर थापाले बिमाको अवधारणा, बिमा पोलिसी, यसका प्रकार, बिमा गर्दाखेरि थाहा पाउनुपर्ने कुराबारे जानकारी गराएका थिए ।

नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रका इलेक्ट्रिकल इन्जिनियर विनोद शर्माले विद्युतबाट आगलागी हुनुको कारण, रोकथाम तथा आगलागी भइसकेपछि अपनाउनुपर्ने सुरक्षाकाे उपायबारे जानकारी गराएका थिए । बुटवल उपमहानगरपालिका विपत् व्यवस्थापन शाखाका प्रमुख इन्जिनियर योगेन्द्र चापागाईंले विपत् व्यवस्थापनका लागि नगरपालिकाले गरेको पूर्वतयारीबारे जानकारी गराए ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका प्रमुख पूर्ण थापा, आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत षडानन्द खरेल, बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौल, वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारीलगायतले धारणा राखेका थिए  । 
 

सुझावित समाचार