तेस्रो नेपाल पावर लाइट एन्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लाइन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एन्ड इभेन्ट्स तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेज इन्डिया प्रालिको संयुक्त आयोजना सो प्रदर्शनी हुन लागको हो । प्रदर्शनी २१–२३ भदौसम्म भृकुटीमण्डपमा चल्नेछ ।
तेस्रोपटक आयोजना हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी कुल एक सय ५० भन्दा बढी स्लट रहने आयोजकले जनाएको छ । प्रदर्शनीमा उच्च गुणस्तर, अत्याधुनिक एवं नवीनत प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ, केबुल एवं कन्डक्टर, चार्जिङ स्टेसन, ब्याट्रीलगायत विद्युतीय सामग्री रहने आयोजकको भनाइ छ ।
देशमै बढ्दो उत्पादित जलविद्युत्का विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाई देशलाई आर्थिक रूपमा सबलीकरण गर्दै लान एवं ऊर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यसहित प्रदर्शनी आयोजना गर्न लागिएको बताइएको छ ।
दसैँको अवसर पारेर ग्राहकले विभिन्न कम्पनीका विद्युतीय सामग्री एकै ठाउँमा हेर्न तथा मन परेको सामान खरिद गर्न पाउनेछन् । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धनसमेत गरिनेछ ।
साथै, यी उद्योगमा भएका नवीनतम उपलब्धिबारे सूचना आदान–प्रदान गरी उपभोक्तामा ऊर्जाको व्यवस्थित खपतबारे जानकारी दिनु यस प्रदर्शनीको लक्ष्य रहेको आयोजकको भनाइ छ ।