हेटौँडा उपमहानगरपालिकाले अस्वाभाविक रूपमा राजस्वको दर वृद्धि गरेको भन्दै हेटौँडाका उद्योगी–व्यवसायीले आन्दोलन घोषणा गरेका छन् । सोमबार मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका हुन् । उपमहानगरपालिकाले चालू आर्थिक वर्ष ०८१/८२ का लागि घरबहाल र अन्य विभिन्न शीर्षकमा लिँदै आएको करमा १६ देखि १५० प्रतिशतसम्म वृद्धि गरेको उनीहरूको भनाइ छ ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णगुप्ता अग्रवालले उद्योगी–व्यवसायी चरम मारमा परेका वेला उपमहानगरले सहुलियत दिनुपर्ने ठाउँमा उल्टै करको दर र दायरा बढाएकाले बाध्य भएर आन्दोलनको घोषणा गर्नुपरेको बताएका छन् । ‘उपमहानगरपालिकाले चालू आवका लागि १६ देखि १५० प्रतिशतसम्म कर वृद्धि गरेर व्यवसायीहरूलाई हतोत्साही गरेको छ । हाम्रो मागको सुनवाइ नभएपछि हामीले उपमहानगरपालिकामा धर्ना दिनेदेखि व्यवसाय बन्द गरेर चाबी हस्तान्तरण गर्नेसम्मका कार्यक्रम घोषणा गरेका छाँै,’ उनले भने ।
पहिलो चरणमा ३२ साउनसम्म आन्दोलनको घोषणा गरेका व्यवसायीहरूले कर वृद्धिका विषयमा नगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ र प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलाई ध्यानाकर्षण पत्र बुझाउँदा पनि सुनुवाइ नभएको भन्दै गुनासो गरे । पटक–पटक आग्रह गर्दा पनि सुधार गर्नुको विपरीत नयाँ करको दर कार्यान्वयनतर्फ उपमहानगरपालिका अग्रसर भएपछि आन्दोलन गर्न बाध्य भएको अध्यक्ष गुप्ताले बताए । पहिलो चरणको आन्दोलनपछि पनि उपमहानगरपालिकाले व्यवसायीको मागको सुनुवाइ नगरे उद्योग वाणिज्य संघले व्यवसायीहरूको तर्फबाट सामूहिक रूपमा उपमहानगरपालिकाविरुद्ध मुद्दासमेत दर्ता गराउने अध्यक्ष गुप्ताले चेतावनी दिए ।