नेपालले भारतसँग ‘एयर कनेक्टिभिटी’ बढाउन आग्रह गरेको छ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीसँग आज भएको शिष्टाचार भेटवार्तामा नेपाललाई थप हवाई रुटको उपलब्धताको सहजीकरण लागि आग्रह गरेकी हुन्।
मन्त्रालयमा आज भएको सो भेटमा त्यसका अलावा द्विपक्षीय सम्बन्धका विविध पक्षहरूका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनाहरूलगायतका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा मन्त्री डा. राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि आग्रह गरेकी छिन्।
यस्तै, पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउनेबारे पनि मन्त्री डा. राणाले चर्चा गरेको उनको सचिवालयले जनाएको छ।
टनकपुर बाँधको नहरमा पानी छोड्न, वाणगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउनका लागि पहल गर्न पनि विदेशसचिव मिश्रीमार्फत परराष्ट्रमन्त्री राणाले आग्रह गरेकी िछन्।
उनले दार्चुलाको पुल उद्घाटन, व्यापार तथा पारवहनसम्बन्धी वार्ताको निरन्तरताको चर्चा पनि गरेकी छिन्।