साउनको अन्तिम सोमबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। पशुपतिनाथमा बिहान ४ बजेदेखि नै दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरू भेला भएका थिए।
एक लाख १५ हजार भक्तजनले दिउँसो १२ बजेभित्र दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
अन्य दिनको तुलनामा साउन महिनाका सोमबार पशुपतिनाथ दर्शन गर्नेहरू बढी हुन्छन्। त्यसमाथि साउनको अन्तिम सोमबार भएकाले आज बिहानैदेखि भक्तजनको घुइँचो थियो।
भक्तजनको सहजताका लागि बिहानैदेखि मन्दिरका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मध्याह्न १२ बजेसम्ममा एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको कोषले जानकारी दिएको छ।










