काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता नेपाली टोलीका खेलाडीलाई नगदसहित पुरस्कृत गर्न राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत सरकारलाई सिफारिस गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको २५ साउनमा बसेको बैठकले उपविजेता टोलीलाई पुरस्कार प्रदानका लागि सिफारिस गरेको हो ।
राष्ट्रिय खेलकुद विकास नियमावलीअनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपैयाँ पाउनेछन् । यस्तै, प्रशिक्षकले दुई लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही एक लाख २० हजार नगद पुरस्कार पाउनेछन् । १७ देखि २३ साउनसम्म राखेपको कभर्ड हलमा चलेको लिगमा नेपाल फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित भएको थियो ।
लिग चरणमा नेपालले श्रीलंका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो । नेपालले पहिलोपटक भारतलाई हराएको थियो । लिग चरणमा अप्रत्याशित रूपमा नेपाल इरानसँग पराजित भयो । तर, सेमिफाइनलमा नेपाली टोलीले इरानलाई ३–० को सोझो सेटमा हरायो । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, इरान र माल्दिभ्स सहभागी थिए ।
६ मार्की खेलाडी घोषणा
एभरेस्ट महिला फ्रेन्चाइज भलिबल लिगका लागि ६ मार्की खेलाडी सार्वजनिक गरिएको छ । आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले ६ टोलीका ६ जना राष्ट्रिय खेलाडीलाई मार्की चयन गरेको हो । गण्डकी टिममा स्पाइकर सरस्वती चौधरी, काठमाडौंमा उषा भण्डारी, मधेशमा निरुता ठगुन्ना, चितवनमा राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी अरुणा शाही र कर्णालीमा संखुवासभाकी सुमित्रा रेग्मी मार्की खेलाडीका रूपमा रहनेछन् ।
सुमित्राले काभाबाट राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् । ललितपुरमा लिबेरो सलिना श्रेष्ठ मार्की छन् । घाइते प्रतिभा मालीलाई कुनै टोलीले मार्कीमा लिएनन् । अब खेलाडीको ड्राफ्ट हुनेछ । त्यसपछि अक्सन गर्ने तालिका छ । लिगमा एक टोलीले समान तीन विदेशी खेलाडी समावेश गर्न पाउँछन् ।