जसपा नेपालको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक ललितपुरमा सुरु भएको छ । ललितपुरको सानागाउँमा सुरु बैठक चार दिनसम्म चल्नेछ । बैठकमा छलफलका लागि अध्यक्ष उपेन्द्र यादवले १० वटा एजेन्डा प्रस्तुत गरेका छन् । वर्तमान भूराजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध, नेपालको वर्तमान राष्ट्रिय राजनीतिको सन्दर्भमा पार्टीको भूमिका, नेपालको सन्दर्भमा पहिचान र राष्ट्रिय/जातीय मुक्तिको सवाल, नेपालको सन्दर्भमा समाजवादसम्बन्धी अवधारणा, जनता समाजवादी पार्टी, नेपालका आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारणा, संविधान संशोधनको आवश्यकता र अपरिहार्यताका एजेन्डा छन् ।
स्थानीय तह, प्रदेश सभा र सांसदमा पार्टीको भूमिका, पार्टी विस्तार र सुदृढीकरण कार्ययोजनाको सम्बन्धमा जनपरिचालन, सदस्यता वितरण, संगठन निर्माण र परिचालन, प्रशिक्षण सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रम निर्माण सम्बन्धमा र नेताहरूको कार्य विभाजन तोक्ने एजेन्डा पनि प्रस्तुत भएको छ ।
संगठन निर्माणको अभियानमा लाग्ने यादवले बताए । ‘यो बैठकले राजनीतिक निर्णय गर्नेछ र संगठन निर्माणको अभियानमा लाग्नेछौँ,’ उनले भने । नेताहरूको कार्यविभाजन र आवश्यकताअनुसार प्रशिक्षणको कार्यक्रम पनि सञ्चालन हुने उनले बताए ।