- ९४.४६ अंक (३.४१ प्रतिशत) बढेर नेप्से २८६०.८४ विन्दुमा
- हिमालयन रि–इन्स्योरेन्सको मात्रै एक अर्ब ५२ करोडको कारोबार
- बैंकिङ समूहको परिसूचक ३.३५ प्रतिशत, वित्त समूह ३.४९ प्रतिशत र लगानी समूहको परिसूचकमा ४.१२ प्रतिशतको वृद्धि
सेयर बजारमापक नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकले आइतबार दुई सूचकमा कीर्तिमान बनाएको छ । ऐतिहासिक कारोबारसँगै बजार पुँजीकरणमा कीर्तिमानी तोडिएको हो । आइतबार कुल सेयर कारोबार २५ अर्ब ७७ करोडको भएको छ भने बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब पुगेको छ । कारोबारमा गत साता मंगलबारको कीर्तिमानी तोडिएको छ । सो दिन २३ अर्ब ७१ करोडको कारोबार भएको थियो । बजार पुँजीकरणमा भने ३५ महिना २४ दिनअघिको कीर्तिमानी तोडिएको छ । २ भदौ ०७८ मा पुँजीकरण ४४ खर्ब ६८ अर्ब पुगेको थियो ।
आइतबार नेप्से परिसूचकले तीन हजार विन्दुको महत्वाकांक्षी लक्ष्यलाई पछ्याएको छ । ९४.४६ अंक (३.४१ प्रतिशत)ले बढेर नेप्से २८६०.८४ विन्दुमा पुगेको छ । बजारलाई उचाल्न बैंकिङ समूह, वित्त समूह र लगानी समूहका कम्पनीहरूको प्रमुख भूमिका देखिन्छ । बैंकिङ समूहको परिसूचक ३.३५ प्रतिशत, वित्त समूह ३.४९ प्रतिशत र लगानी समूहको परिसूचकमा ४.१२ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, विकास बैंक समूह २.५८ प्रतिशत, जलविद्युत् ३.९३ प्रतिशत, जीवन बिमा ४.५३ प्रतिशत, निर्जीवन बिमाको ३.४५ प्रतिशत, लघुवित्तहरूको ४.३९ प्रतिशत र व्यापार समूहको २.९१ प्रतिशतले परिसूचक बढेको छ । होटेल तथा पर्यटन समूहको परिसूचक ०.९ प्रतिशतले मात्रै बढेको छ । उत्पादन तथा प्रशोधनतर्फको परिसूचक १.७४ प्रतिशतले बढेको देखिन्छ ।
संस्थागत लगानीकर्ता अझै ‘पर्ख र हेर’मा छन् : स्टक ब्रोकर
स्टक बजारमा कारोबारीहरूको चाप बढ्दै गइरहेको महसुस स्टक ब्रोकर कम्पनीले पनि गर्न थालेका छन् । धितोपत्र ब्रोकर्स एसोसिएसनका अध्यक्ष सागर ढकालले पछिल्लो समय बजारमा ग्राहकको चाप बढ्दै गइरहेको बताए । उनले भने, ‘साढे तीन वर्ष मनोबल खस्किएका ग्राहकमा आत्मबल बढेको जस्तो देखिन्छ । पुराना सेयर कारोबारी सक्रिय भइरहेका छन् ।’
उनका अनुसार पुराना कारोबारीले करिब ५० प्रतिशतले पोर्टफोलियो बढाएका छन् । यद्यपि, बजारमा अपेक्षाअनुसार संस्थागत लगानीकर्ताको प्रवेश हुन नसकेको उनको भनाइ छ । उनले भने, ‘लगानी कम्पनीका रूपमा कारोबार गर्नेको सहभागिता उच्च नै छ । तर बैंक, इन्स्योरेन्सजस्ता संस्थागत लगानीकर्ता अझै सक्रिय हुन सकेका छैनन् । कतै बजारमा करेक्सन भइहाले पछि प्रवेश गर्ने सोचमा बसेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ ।’
स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले कारोबार अझै बढ्ने सम्भावना रहेको बताए । तर, अलिकति परिसूचक बढ्नेबित्तिकै आतंकित बनाउने प्रचलनले लगानीकर्ताको मनोबल अझै बढ्न नसकेको उनको गुनासो छ । त्यतिवेलाभन्दा सूचीकृत कम्पनीहरूको संख्या बढ्दै गएको र राम्रा कम्पनीहरूको सेयर मूल्य अझै न्यूनतम मूल्य कायम रहेकाले बजार बढ्दै जाने उनको विश्लेषण छ । उनले भने, ‘इन्भेस्टमेन्ट कम्पनीका रूपमा नयाँ दर्ता भएर आउने क्रम बढ्दै छ । तर, खास संस्थागत लगानीकर्ता मानिएका बैंक, इन्स्योरेन्स कम्पनीहरू पर्ख र हेरको स्थितिमा देखिन्छन् । नवप्रवेशी लगानीकर्ता अझै आउन बाँकी छन् । अहिले पुराना कारोबारी मात्रै बढी सक्रिय हुँदा यो अवस्था आएको हो ।’
हिमालयन रिइन्स्योरेन्स,शिवम् र निफ्राको वर्चस्व
आइतबारको कीर्तिमानी कारोबारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र नेपाल पूर्वाधार बैंक (निफ्रा)ले १०.६८ प्रतिशत वर्चस्व बनाएका छन् । सबैभन्दा ठूलो हिस्सेदारी हिमालय रिइन्स्योरेन्सको छ । यो कम्पनीको आइतबार एक अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ । शिवम् सिमेन्टको एक अर्ब १६ करोडको कारोबार भएको छ । नेपाल पूर्वाधार बैंकको ६८ करोड २७ लाखको कारोबार भएको छ ।
कीर्तिमानी कारोबारमा ठूलो हिस्सेदारी बनाउने हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार बढ्न थालेको १७ साउनदेखि हो । १७ साउनमा ५९ करोड ७५ लाखमा कारोबार भएको यो कम्पनीको सेयर कारोबार १८ साउनमा एक अर्ब २६ करोडको कारोबार पुगेको थियो । त्यसयता हिमालयन रिइन्स्योरेन्सको कारोबार एक अर्बभन्दा कम भएको छैन । एक अर्बमाथिको कारोबारको यात्रा तय गरिरहँदा प्रतिकित्ता सात सय ७० रुपैयाँबाट यसको किनबेच सुरु भएको थियो ।
१८ साउनमा आठ सय ४५ रुपैयाँ पुगेको यो कम्पनीको सेयर मूल्य २१ साउनमा आठ सय ४९ रुपैयाँ पुग्यो । त्यस दिन कारोबार पनि एक अर्ब ३९ करोडको भयो । २२ साउनमा त सेयर मूल्य ९३३.९ रुपैयाँ पुग्नेबित्तिकै कम्पनीको कारोबार एक अर्ब ५३ करोड पुगेको थियो । २४ साउन (गत बिहीबार) हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य नौ सय ५९ रुपैयाँ पुगेसँगै कारोबार एक अर्ब सात करोड पुग्यो । त्यसपछि आइतबार सेयर मूल्यमा सामान्य गिरावट आएर नौ सय ५३ रुपैयाँ कायम भए पनि कारोबार रकम भने एक अर्ब ५२ करोड रुपैयाँ पुग्यो । यो कीर्तिमानी कारोबारको ५.८९ प्रतिशत हो ।
शिवम् सिमेन्टको सेयर एक अर्बभन्दा बढीको किनबेच हुन थालेको गत बिहीबारदेखि मात्रै हो । गत बिहीबार सात सय एक रुपैयाँमा कारोबार हुँदा यो कम्पनीको कारोबार एक अर्ब २० करोड पुगेको थियो । आइतबार शिवम्को सेयर मूल्य बढेर सात सय ३३ रुपैयाँ पुगेसँगै कारोबार एक अर्ब १६ करोड रुपैयाँ पुगेको छ । गत बिहीबार ३०७.५ रुपैयाँ प्रतिकित्ता पुगेको निफ्राको सेयर कारोबार ९२ करोड ४६ लाख थियो । तर, आइतबार सेयर मूल्य बढेर ३३७.९ पुगे पनि कारोबार ६८ करोड २७ लाखमा सीमित बन्यो ।
पुराना सेयर कारोबारी सक्रिय भइरहेका छन्
सागर ढकाल, अध्यक्ष, धितोपत्र ब्रोकर्स एसोसिएसन
पछिल्लो समय बजारमा ग्राहकको चाप बढ्दै गइरहेको छ । साढे तीन वर्ष मनोबल खस्किएका ग्राहकमा आत्मबल बढेको जस्तो देखिन्छ । पुराना सेयर कारोबारी सक्रिय भइरहेका छन् । पुराना कारोबारीले करिब ५० प्रतिशतले पोर्टफोलियो बढाएका छन् । यद्यपि, बजारमा अपेक्षाअनुसार संस्थागत लगानीकर्ताको प्रवेश हुन सकेको छैन । लगानी कम्पनीका रूपमा कारोबार गर्नेको सहभागिता उच्च नै छ । तर बैंक, इन्स्योरेन्सजस्ता संस्थागत लगानीकर्ता अझै सक्रिय हुन सकेका छैनन् । कतै बजारमा करेक्सन भइहाले पछि प्रवेश गर्ने सोचमा बसेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ ।