मकवानपुर प्रहरीले लागुऔषध चरेससहित एकजना महिलासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिकाबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामाढीका ४५ वर्षीय सुधीर सिंह र ७५ वर्षीया रेणुदेवी चौधरी रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले ६ केजी चरेससहित पक्राउ गरेको प्रहरी निरीक्षक शाहले जानकारी दिए ।
उनका अनुसार मकवानपुरको कैलाश गाउँपालिकाको गल्छीबाट हेटौँडातर्फ आइरहेको यात्रुवाहक बसलाई थाहा नगरपालिका– ३ शिखरकोटमा रोकेर खानतलासी गर्दा उनीहरूसँगबाट उक्त परिमाणको चरेस फेला परेको हो । प्रहरीका अनुसार सिंह र चौधरीले १२ वटा प्लास्टिकको पोकामा रहेको चरेस तिघ्रामा बाँधेर ल्याएका थिए ।