माओवादी केन्द्रमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा पुनः अघि बढाउनुपर्ने छलफल अघि बढेको छ।
कांग्रेस–एमालेको वर्तमान सत्तागठबन्धनले स्थायित्वका लागि संविधान संशोधन गरिने बताइरहेका वेला माओवादीले कार्यकारी राष्ट्रपतिको एजेन्डा पुनः उठाउने जनाएको हो।
स्थायी समितिको आजको बैठकमा नेताहरूले संविधान निर्माणका क्रममा थाती राखिएको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा पार्टीले पुनः अघि बढाउनुपर्ने धारणा राखेका हुन्।
बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले माओवादी कार्यकारी राष्ट्रपतिमा जानुपर्छ भन्नेमा अडिग रहेको बताए।
‘राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतिको विकल्प छैन भन्ने हाम्रो संस्थागत धारणा पुरानै हो,’ प्रवक्ता सापकोटाले भने, ‘संविधान निर्माणको क्रममा हामीले हिजो नोट अफ डिसेन्ट पनि लेखेका थियौँ। अहिले हामीले संस्थागत रूपमा पनि उठाएका छौँ। यहाँ अस्थिरताको कुरा गरिँदै छ। कांग्रेस र एमालेले स्थायित्व नै चाहेको हो भने राष्ट्रपतिमै जानुपर्छ। महाअभियोगको अवस्थाबाहेक राष्ट्रपति पाँच वर्षसम्म फेरिँदैन। त्यसले मात्रै स्थायित्व दिन सक्छ।’
प्रवक्ता सापकोटाले बैठकमा अध्यक्ष प्रचण्डले पनि यही कुरा राखेको भन्दै यही आधिकारिक र पार्टीको संस्थागत निर्णय भएको जानकारी दिए।
माओवादी बैठकमा सरकारभन्दा संगठन निर्माणलाई प्राथमिकता दिनुपर्ने धारणा पनि व्यक्त भएको छ। बैठकमा नेताहरूले अब दीर्घकालीन रूपमा पार्टी कार्यक्रम बनाउनुपर्ने धारणा राखेको पार्टी प्रवक्ता सापकोटाले जानकारी दिए।
बैठकमा उपमहासचिव वर्षमान पुन, सचिव चक्रपाणि खनाललगायतले अबको प्राथमिकता सरकार नभई पार्टी हुनुपर्ने धारणा राखेका थिए। बैठक आइतबार पनि बस्दै छ।