डेंगु र हैजाका संक्रमित बढे

शनिबार, २६ साउन, २०८१
डिजिटल संस्करण

पछिल्लो समय डेंगु र हैजाका संक्रमितको संख्यामा वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या  मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमितको संख्यामा तीन हजार ८४ जना पुगेको छ।

चार दिनयता सात सय २२ जना डेंगु संक्रमित थपिएका हुन्। यही साउन २१ गते दुई हजार तीन सय ६५ जनामा डेंगु पुष्टि भएको थियो। यो संख्या शुक्रबारसम्म तीन हजार ८४ रहेको महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए। 

उनका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको छ। सबभन्दा बढी डेंगु तनहुँमा पाँच सय ८३ जनामा देखिएको छ। काठमाडौं जिल्लामा तीन सय सात, कास्कीमा एक सय ६६ र झापा एक सय ३५ जना डेंगु संक्रमित देखिएका छन्। 

स्वास्थ्य मन्त्रालयले डेंगु संक्रमितको संख्या बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पतालपरिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ। ‘सरकारी अस्पतालमा डेंगु रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ। 

४७ मा हैजा पुष्टि

यस्तै, महाशाखाका अनुसार हैजाका बिरामीका संख्या ४७ पुगेका छन्। कीटजन्य रोग शाखाका प्रमुख डा. दाहालले ललितपुर, काठमाडौं, प्युठान, कैलाली र रुपन्देहीमा हैजाका बिरामी देखिएकाे बताए। उनका अनुसार ललितपुरमा ३४, काठमाडौंमा दुई, कैलालीमा आठ, प्युठानमा दुई र रुपन्देहीमा एकजनामा हैजा पुष्टि भएको छ।

सुझावित समाचार