गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शिलान्यासलाई लिएर विवाद

शिलान्यास गर्न आएका सूचना तथा सञ्चारमन्त्री गुरुङ गएनन् , प्रदेशका मुख्यमन्त्री र शिक्षा मन्त्रीलाई वेवास्ता

शनिबार, २६ साउन, २०८१
डिजिटल संस्करण

गण्डकी प्रदेश सरकारमातहतको गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शिलान्यासको विषयलाई लिएर विवाद भएको छ। भवनको शिलान्यास प्रदेशका मुख्यमन्त्रीले गर्ने वा संघ सरकारका मन्त्रीले गर्ने भन्ने विषयमा विवाद भएपछि शुक्रबारलाई तय भएको कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३२ मालमुलस्थित स्यालटहरोमा निर्माण हुन लागेको भवनको शिलान्यास संघीय सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने भनी विश्वविद्यालयको कार्यकारी परिषद्को १६ साउनमा बसेको बैठकले निर्णय गरेको थियो। त्यसको जानकारी तीन दिनपछि मन्त्री गुरुङलाई दिएपछि शुक्रबार ११ बजे शिलान्यास गर्ने गरी समय तय भएको थियो। सोहीअनुसारको निमन्त्रणासमेत सरोकारवालाहरूलाई पठाइएको थियो। 

भवन शिलान्यासका लागि मन्त्री गुरुङ शुक्रबार हवाईमार्ग हुँदै बिहान १०:१५ बजेतिर पोखरा आएका थिए। ५/६ दिन अघि शिलान्यासको लागि आउने भनी विश्वविद्यालयलाई समय दिएका मन्त्री गुरुङले शिलान्यासको विषयलाई लिएर विवाद भएपछि अन्तिम समयमा आएर आफनो कार्यव्यस्तताका कारण समय नभएकाले आउन नसक्ने भनेपछि कार्यक्रम स्थगित हुन पुगेको हो।

भवन शिलान्यासको लागि आएका मन्त्री गुरुङले कार्यक्रम स्थगित भएपछि केही दिनअघि निधन भएका पार्टीका कार्यकर्ता आनन्द सुवेदीको घरमा समवेदना व्यक्त गर्न पुगेका थिए। त्यसपछि कुनै कार्यक्रम तय नभएका उनी नेपाल टेलिकम र राससको कार्यालय निरीक्षणमा गएका थिए।करिब १३ करोड लागतमा बन्ने तीनतले भवनको लागि चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको छ। 

मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीलाई बेवास्ता, राजनीतिकरण गर्न खोज्दा समस्या

प्रदेशमातहतको विश्वविद्यालयको भवन शिलान्यासको लागि विश्वविद्यालयका पदाधिकारीहरूले प्रदेशका मुख्यमन्त्रीसँगै विभागीय सामाजिक विकासमन्त्रीसँग कुनै सरसल्लाह नगरी आफ्नै ढंगले कार्यक्रम गर्न लागेपछि विवाद भएको हो। प्रदेशमा हाल मुख्यमन्त्री र सामाजिक विकासमन्त्री नेपाली कांग्रेसका छन् भने विश्वविद्यालयका कुलपति गणेशमान गुरुङसँगै उपकुलपति, रजिस्टार, डिनदेखि अन्य जिम्मेवार पदमा एमालेनिकटका व्यक्ति रहेका छन्।

उनीहरू अधिकांश मन्त्री गुरुङ गण्डकीको मुख्यमन्त्री हुँदाका समय नियुक्त भएका थिए। विशेष गरी कुलपति गुरुङको जोडबलमा मन्त्री गुरुङलाई प्रमुख अतिथि बनाइएको हो। शिलान्यास मन्त्री गुरुङबाट नै गर्ने अडान कुलपतिले राखेपछि हाल आएर समस्या सिर्जना भएको विश्वविद्यालयका एक जिम्मेवार कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए। 

विश्वविद्यालयले प्रदेशका सामाजिक विकासमन्त्रीलाई कार्यक्रमको बारेमा सामान्य जानकारीसमेत दिएको थिएन। पठाएको पत्र मन्त्रीको सचिवालयको टेबुलमा फेला परेको थियो। त्यो कसले कहिले ल्यायो कुनै जानकारी नपाएका मन्त्रीका स्वकीयसचिव सूर्य पौडेलले जानकारी दिए। तीन दिनअघि टेबुलमा पत्र भेटिएपछि मात्र कार्यक्रमको बारेमा मन्त्रीको सचिवालयले जानकारी पाएपछि मन्त्रीलाई त्यसको जानकारी दिइएको पौडेलको भनाइ छ।

त्यसअघि शिलान्यासको विषयलाई लिएर विश्वविद्यालयका पदाधीकारीहरूले कुनै सल्लाह मन्त्रीसँग नगरेको उनले बताए। उता मुख्यमन्त्रीको सचिवालयले समेत यस विषयमा विश्वविद्यालयका पदाधीकारीहरूले मुख्यमन्त्रीसँग कुनै सल्लाह नगरेको बताए। यस सम्बन्धमा औपचारिक जानकारीसहितको पत्र आएको सचिवालयले थाहा नपाएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए। 

विश्वविद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिना भन्छन् -

विश्वविद्यालय प्रदेश सरकारको बजेटले चल्ने भए पनि यो आफ्नो कार्य गर्न भने स्वायत्तः छ । यो जुँगाको लडाइँ गर्ने ठाउँ हैन। प्रदेशका संस्थापक मुख्यमन्त्रीसँगै हाल संघीय सरकारका मन्त्री भएकाले अनुदान आयोगलगायतबाट हुने सहयोगसँगै अन्य काममा केन्द्रबाट सहयोग लिन सजिलो हुन्छ भन्ने सोचाइका साथ उहाँलाई बोलाएको हो। शिलान्यासजस्तो सामान्य काममा लागि उहाँलाई बोलाउँदा विरोध हुँदैन होला भन्ने थियो, तर प्रदेश सरकारले असन्तुष्टि जनाएपछि हाललाई कार्यक्रम रोकिएको हो। शिलान्यासका लागि आउनुभएका मन्त्रीज्यूले समेत आफ्नो कार्यव्यस्तताका कारण समय दिन नसक्ने जानकारी दिँदै आफू नआउने भनेपछि अन्तिममा आएर कार्यक्रम रोकिएको हो। अब प्रदेशका मुख्यमन्त्री र विभागीय मन्त्रीज्यूसँग सल्लाह गरी उपयुक्त समय हेरी शिलान्यासको मिति तय गरिनेछ।                                                                                                                                                                       

सुझावित समाचार