पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध

शनिबार, २६ साउन, २०८१
डिजिटल संस्करण

पश्चिम म्याग्दीको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ। पहिरो नरोकिएकाले यात्रुले सास्ती खेप्न बाध्य छन्।

बिरामीलाई बोकेर पहिरो पार गराउने गरिएको छ। यात्रु जोखिम मोलेर पहिरो पार गरी आ–आफ्नो गन्तव्यतर्फ लाग्ने गरेका छन्। पश्चिम म्याग्दीको तीन पालिकासँगै बागलुङको पश्चिम क्षेत्र जोड्ने बेनी–दरबाङ सडकखण्ड शुक्रबारदेखि अवरुद्ध भएको हो। उक्त सडक खण्डको बेनी नगरपालिका–४ सिंगा तातोपानीको घुमाउने भिर, मालिका गाउँपालिका–६ को बांगेभिर र मंगला गाउँपालिका–२ को लाम्पाटादेखि रणबाङका क्षेत्रमा पहिरो खस्दा पटक-पटक सडक अवरुद्ध हुने गरेको छ।

उक्त सडकखण्डलाई म्याग्दीको ‘लाइफलाइन’का रूपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको छ। फापरखेतको खोल्सोबाट झर्ने पुरानो पहिरोले सताइरहने सो सडकखण्डमा लाम्पाटा रणबाङ क्षेत्रमा नयाँ पहिरो झर्न सुरु भएको छ। पहिरोका कारण बेनीबाट दरबाङतर्फ जाने सवारीसाधन र दरबाङदेखि बेनीतिर जाने सवारीसाधन बीचबाटोमै रोकिएका छन्। करिब १८ वर्षअघि सडक खन्नुअघि नै यहाँ पहिरोको जोखिम थियो। पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सीधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन्।

धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको छ। ढुंगा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता छ। यात्रु घुमाउरो बाटो प्रयोग गरेर पैदल नै गन्तव्यतर्फ लाग्नुपर्ने बाध्यता छ।     

   
 
 

See More On

सुझावित समाचार