थ्री स्टार र एपिएफ विजयी

शनिबार, २६ साउन, २०८१
डिजिटल संस्करण

थ्री स्टार र नेपाल एपिएफ क्लबले शुक्रबार ललित स्मृति एन्फा यू–१८ लिगमा जित निकालेका छन् । सातदोबाटोको एन्फा कम्प्लेक्समा थ्री स्टारले खुमलटार युथ क्लबमाथि ४–० को फराकिलो जित निकालेको हो । थ्री स्टारको जित दिलाउन रोमन श्रेष्ठले दुई गोल गरेका थिए । खेलको छैटौँ मिनेटमा रोमनले थ्री स्टारलाई १–० को अग्रता दिलाए । खेलको १०औँ मिनेटमा थ्री स्टार २–० ले अगाडि भयो । 

खुमलटारले डिफेन्समा धेरै गल्ती गरेको थियो । दोस्रो हाफमा थ्री स्टारले थप दुई गोल ग¥यो । खेलको ६८औँ मिनेटमा सनिलले थ्री स्टारलाई ३–० ले अगाडि राखे । रोमनले ८६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई सानदार जित दिलाए । लिगमा चौथो जितसँगै थ्री स्टारले आठ खेलमा १४ अंक जोडेको छ । लिगमा सातौँ हार सामना गरेको खुमलटारले आठ खेलबाट ३ अंक बनाएको छ । 

यसअघि पहिलो खेलमा एपिएफले चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पाखा लगायो । लगातार चार खेलमा जितविहीन एपिएफका लागि अमन मोक्तान र पवन पाख्रिनले समान एक गोल गरे । चर्च ब्वाइजका लागि शिशिर यस्मालीले एक गोल फर्काए । खेलको २१औँ मिनेटमा अमनले एपिएफलाई १–० को अग्रता दिलाए ।

खेलको ६९औँ मिनेटमा शिशिरले चर्च ब्वाइजलाई १–१ को बराबरीमा ल्याए । खेलको ९०औँ मिनेटमा पवनले पेनाल्टीमा गोल गर्दै एपिएफलाई २–१ को जित दिलाए । इन्जुरी समयमा सुजन बस्नेतले दोहोरो पहेँलो कार्ड पाउँदा चर्च ब्वाइज १० खेलाडीमा समेटिएको थियो । तेस्रो जितसँगै एपिएफले आठ खेलमा १० अंक जोडेको छ । तेस्रो हार व्यहोरेको चर्च ब्वाइजको समान आठ खेलबाट १३ अंक छ । 

See More On

सुझावित समाचार