नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार सुशासन, सेवाप्रवाह र संविधान संशोधन गर्ने विषयमा खरो उत्रिनुपर्ने बताएका छन्। शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले सरकार बनेको एक महिना पुग्दै गर्दा त्यसतर्फ अब खरो उत्रिनुपर्ने बताए।
‘कांग्रेस–एमालेको सरकार बन्नुका कारण सुशासन कायम गर्ने, जनतामा आशा जगाउने, सेवाप्रवाह बढाउने र संविधान संशोधन गर्ने थियो। सरकार बनेको एक महिना पुग्दै गर्दा त्यसतर्फ अब खरो उत्रिनुपर्छ,’ उनले भने। महरले सरकारले न्यूनतम साझा कार्यक्रम छिटो ल्याएर जनतामा आशा र भरोसा देखाउनुपर्नेमा जोड दिए।
यस्तै, स्थानीय, प्रदेश र संघको सरकार सञ्चालनका लागि पार्टीको संयन्त्र बनाउने विषय किन रोकियो भन्दै उनले प्रश्न गरे। ‘त्यो किन रोकियो ? कहिले बन्छ संयन्त्र ?’ बैठकमा महरको प्रश्न थियो, ‘महासमिति बैठकमा तीनवटा मात्र प्रतिवेदन थिएनन् । धेरै कुरा आएका छन् । मैले आफैँले उठाएका विषय पनि थिए। त्यसको कार्यान्वयन गर्ने गरी बैठक निर्णयमा पुगोस्।’
विगतमा कांग्रेस र एमालेले एक–अर्काविरुद्ध सडकदेखि सदनसम्म उठाएको प्रश्नको जवाफ जनताले मागिरहेको भन्दै महरले बैठकले त्यसलाई प्रस्ट पार्नुपर्ने बताए। ‘हिजो हामीले सत्ता र प्रतिपक्षमा हुँदा एक-अर्का पार्टी र व्यक्तिविरुद्ध सडकदेखि सदनसम्म केही प्रश्न उठाएका थियाैँ,’ उनले भने, ‘जनताले ती प्रश्नको सफाइ मागेका छन्। हाम्रोतर्फबाट ती प्रश्नको प्रस्टीकरण आउन जरुरी छ। कुनै विषयमा हामी दोषी छौँ भने पनि कारबाहीको भागेदार हुन तयार हुनुपर्छ।’
यस्तै, बैठकमा उनले पछिल्ला दिनमा नेपालको आकाश असुरक्षित देखिएको भन्दै पार्टी गम्भीर बन्नुपर्ने बताए। मितव्यायी र सुशासनको कुरा गरिरहेका वेला कांग्रेस सम्मिलित मधेश प्रदेश सरकारमा २० जना मन्त्री बनाएकोमा समेत महरले आपत्ति जनाए।