रुसबाट अस्तु आयो, क्षतिपूर्ति आएन

परिवारका सदस्यले बिहीबार पशुपति आर्यघाटमा अस्तु सेलाए

शुक्रबार, २५ साउन, २०८१
डिजिटल संस्करण

युक्रेनसँगको युद्धमा मारिएका रुसी सेनामा कार्यरत नेपालीमध्ये पाँचजनाको अस्तु बुधबार काठमाडौं आइपुगेको छ । परिवारका सदस्यले बिहीबार पशुपति आर्यघाटमा अस्तु सेलाएका छन् । परिवारको समन्वय गरिरहेकी अभियन्ता कृतु भण्डारीका अनुसार परिवारजनले बिहीबार मृतकहरू कास्कीका देवान राई, स्याङ्जाका प्रीतम कार्की, हरिप्रसाद अर्याल र गणेश श्रेष्ठ तथा महोत्तरीका अनिलकुमार साहको अस्तु सेलाएका छन् । रुसी सेनामा कार्यरत मारिएका नेपालीहरूको अस्तु आएको पहिलोपटक हो । 

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले नेपाल सरकारको खर्चमा अस्तु आएको बताए । ‘नेपाली राजदूतावासमा पटकपटक गरेर जम्मा गरिएको अस्तु नेपाल सरकारको खर्चमा कतार एयरवेजको उडानबाट बुधबार ल्याइएको हो,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘परिवारजनलाई हामीले हस्तान्तरण गरेपछि उहाँहरूले सेलाउनुभयो भन्ने बुझेका छौँ ।’

रुस–युक्रेन युद्धमा रुसी सेनाका तर्फबाट सहभागी भएकामध्ये हालसम्म ३६ जना नेपालीको मृत्यु भएको महानिर्देशक पौडेलले बताए । तर, अहिलेसम्म कम्तीमा ३९ जनाको मृत्यु भएको जानकारी पाएका परिवारजनले मृत्युसंस्कार पनि सम्पन्न गरिसकेका छन् । 

रुसी सेनामा कार्यरत रहेका वेला युक्रेनसँगको युद्धका क्रममा मारिएका नेपालीको परिवारले अझै क्षतिपूर्ति पाएका छैनन् । परराष्ट्र मन्त्रालयमार्फत गत जेठमा सातजनाको क्षतिपूर्तिका लागि कागजपत्र पठाइएको, तर अहिलेसम्म रुस पक्षले क्षतिपूर्ति यकिन नगरेको एक कूटनीतिक अधिकारीले बताए । 

कन्सुलर विभागका महानिर्देशक पौडेलले भने चाँडै क्षतिपूर्ति प्राप्त हुने सूचना आएको बताए । नेपालस्थित रुसी राजदूतावास र रुसस्थित नेपाली राजदूतावासबाट परराष्ट्र मन्त्रालयले क्षतिपूर्तिका लागि प्रयास जारी राखेको छ । रुसी सेनामा गत असोजदेखि नेपाली भर्ती भएका हुन् । रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी नेतृ कृतु भण्डारीका अनुसार हालसम्म ३९ जनाको मृत्यु पुष्टि भइसकेको र १८ जनाको मृत्यु पुष्टि हुन बाँकी छ । 

See More On

सुझावित समाचार