नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस अन्तरिम सरकार प्रमुखका रूपमा चयन भएका छन् । बिहीबार स्वदेश फर्किएका ८४ वर्षीय युनुसले राष्ट्रपति मोहम्मद शाहबुद्दिनबाट नयाँ सरकार प्रमुखका रूपमा शपथ लिए । शपथग्रहण समारोह बंगलादेशको समयअनुसार बिहीबार राति नौ बजे बंगभवनको दरबार हलमा सम्पन्न भएको थियो । युनुससँगै अन्य १३ जना क्याबिनेटस्तरीय सल्लाहकार परिषद्का सदस्यले पनि शपथ लिए । हसिनाको सरकारलाई अपदस्थ गर्न मुख्य भूमिका खेलेका विद्यार्थी आन्दोलनका दुई शीर्ष नेता नहिद इस्लाम र आसिफल महमुद पनि १६ सदस्यीय सल्लाहकार परिषद्का सदस्य रहेका छन् ।
आरक्षणको विरोधमा सुरु भएको आन्दोलन बंगलादेशी सरकारको दमनकारी शासनविरुद्ध मोडिएर प्रधानमन्त्री शेख हसिना राजीनामा दिई देश छोड्न बाध्य भएपछि नयाँ सरकारको चयन गरिएको हो । हसिनालाई हटाउन प्रमुख भूमिका खेलेको विद्यार्थी आन्दोलनका नेतृत्वकर्ता विद्यार्थी नेताहरूको प्रस्तावमा युनुसलाई अन्तरिम सरकारको नेतृत्व प्रदान गरिएको हो । नयाँ सरकारको नेतृत्व लिनकै लागि युरोपमा निर्वासित जीवन बिताउँदै आएका युनुस बिहीबार स्वदेश फर्किएका थिए । युनुसलाई हसिनाको सरकारले १०० भन्दा बढी आपराधिक मुद्दाको आरोप लगाएपछि उनी फ्रान्सको राजधानी पेरिसमा निर्वासनमा बस्दै आएका थिए ।
स्वदेश फर्केलगत्तै ढाकास्थित विमानस्थलमा पत्रकारसँग कुरा गर्ने क्रममा युनुसले शेख हसिनाको सरकारलाई अपदस्थ गर्नका लागि भएको लामो प्रदर्शनमा मारिएका व्यक्तिप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै तिनको बलिदानले देशलाई ‘दोस्रो स्वतन्त्रता’ दिलाएको टिप्पणी गरे । ‘हाम्रा वीरहरूको बलिदानले बंगलादेशले नयाँ विजय दिवस सिर्जना गरेको छ ।
शपथग्रहण समारोहमा हसिनाको १५ वर्षे शासनमा मुख्य प्रतिपक्षी दल रहेको बंगलादेश नेसनल पार्टी(बिएनपी)का शीर्ष नेताहरूको सहभागिता थियो । त्यस्तै बेलायत, जापान, चीन, फिलिपिन्स, इरान, अर्जेन्टिना, कतार, नेदरल्यान्ड्स र युएईका कूटनीतिज्ञको पनि उपस्थिति रहेको ढाका ट्रिब्युनले लेखेको छ ।
शान्ति बहाली पहिलो प्राथमिकता
‘शान्ति सुरक्षा बहाली हाम्रो पहिलो काम हुनेछ । जबसम्म हामी कानुन र व्यवस्थाको स्थिति ठीक गर्दैनौँ, तबसम्म एक कदम पनि अगाडि बढ्न सक्दैनौँ,’ उनले भने, ‘मेरो सबैसँग आह्वान छ, यदि तपाईंहरूलाई ममाथि भरोसा छ भने यो सुनिश्चित गर्नुस् कि देशको कुनै पनि कुनामा कसैमाथि आक्रमण नहोस् ।’ सेना प्रमुख जनरल वाकर–उज–जमान युनुसको समर्थनमा रहेको जनाएका छन् । युनुस नेतृत्वको सरकारले आगामी दिनमा लोकतान्त्रिक प्रक्रियाको माध्यमबाट मुलुकलाई अगाडि बढाउन सक्षम हुने विश्वास व्यक्त गरे । ढाका विमानस्थलमा पत्रकारहरूसँग युनुसले ‘केही महिनाभित्र’ चुनाव गराउन चाहेको बताएका छन् । साथै उनले छिट्टै आफ्नो संलग्नतामा विजय उत्सव मनाउने पनि बताए । देशले दोस्रोपटक स्वतन्त्रता पाएको छ,’ युनुसले भने । हप्तौँ लामो प्रदर्शनविरुद्ध सरकारले कठोर दमन गर्दा कम्तीमा ४५५ जनाको ज्यान गएको छ । त्यस्तै युनुसले देशमा अब सुव्यवस्था बहाली गर्नुपर्ने बताउदै अल्पसंख्यकसहित एक–अर्काको रक्षा गर्न नागरिकलाई आह्वान गरे ।
कमजोर शान्ति सुरक्षाका कारण हिन्दू समुदायमाथि आक्रमण बढ्यो
बंगलादेशमा शेख हसिना सत्ताच्युत भएपछि देखिएको कमजोर सुरक्षा स्थितिमा बंगलादेशी हिन्दूमाथिको आक्रमण बढेको छ । यसबाट बच्न सयौँ भारत र बंगलादेशको सीमामा भेला भएको भारतीय सुरक्षा अधिकारीले मिडियालाई जानकारी गराए । हसिनाको निष्कासनपछि मुस्लिमबहुल बंगलादेशका केही भागमा हिन्दूको व्यवसाय र घरहरूमाथि आक्रमण बढेको छ । विशेषतः हिन्दूहरू हसिनाको मूल मतआधार भएको आरोपमा उनीहरू निसाना बनेका छन् ।
‘सयौँ बंगलादेशी नागरिक प्रायः हिन्दूहरू, बंगलादेशसँगको भारतको सिमानामा भेला भएका छन्,’ भारतको सीमा सुरक्षा बल (बिएसएफ) का उप–महानिरीक्षक अमितकुमार त्यागीले बताए । पश्चिम बंगाल राज्यको भारतीय सीमाक्षेत्रको अन्तिम विन्दुमा २०० जना र पश्चिम बंगाल राज्यको जलपाइगुडी जिल्लामा ६०० भन्दा बढी बंगलादेशी नागरिक भेला भएका त्यागीले जानकारी दिए । ‘दुई देशबीचको सीमामा कुनै पर्खाल नभएका कारण बिएसएफका जवानले भिडलाई टाढा राख्न मानव ढाल निर्माण गरेका थिए । अधिकारीहरूले सीमाक्षेत्रबाट भिड पन्छाउन हवाई फायर भएको थियो,’ त्यागीले भने ।
सन् २००९ देखि सत्तामा रहेकी ७६ वर्षीया हसिना एक महिनाभन्दा बढी चलेको आक्रामक विरोध प्रदर्शनपछि सोमबार राजीनामा दिन बाध्य भइन् । त्यसपछि बंगलादेशको सुरक्षा स्थिति सबल नहँुदा हसिनाका पार्टीका समर्थक र हिन्दू समुदायमाथि आक्रमण बढेको छ । ‘बंगलादेश हिन्दू, बौद्ध, क्रिस्चियन, युनिटी काउन्सिल’का अनुसार यो हप्ताको सुरुमा कम्तीमा १० वटा हिन्दू मन्दिरमा आक्रमण भएको छ । ९१ प्रतिशत मुस्लिम रहेको बंगलादेशमा दोस्रो ठूलो धर्मावलम्बी हिन्दूहरू करिब आठ प्रतिशत छन् ।