विषालु च्याउको सेवनबाट सर्वसाधारणको मृत्यु हुने क्रम बढेपछि जनस्वास्थ्य कार्यालय मकवानपुरले विषालु च्याउ प्रभावित क्षेत्रमा पुगेर सचेतना अभियान सञ्चालन गर्न थालेको छ । गत असारमा मकवानपुरमा विषालु च्याउ खाएर चारजनाको मृत्यु भएको थियो । २९ जना बिरामी परेका थिए ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले विषालु च्याउको पहिचान र प्रयोग न्यूनीकरणका लागि अभियान सञ्चालन गर्न थालेको बताए । उनले जिल्लाको राक्सिराङ, कैलाश र भीमफेदी गाउ“पालिकाको विभिन्न स्थानमा विषालु च्याउको प्रयोगविरुद्ध अभियान सञ्चालन गरेको जानकारी दिए । अभियानका क्रममा प्रभावित क्षेत्रमा पुगेर गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान, पोखराका वैज्ञानिक एवं च्याउ विशेषज्ञ डा. शिव देवकोटाले नेपालमा पाइने विषालु च्याउबारे सहजीकरण गरेका छन् ।
मिजारले मकवानपुरसहित चितवन, इलाम, पाल्पा, अर्घखा“ची, गुल्मी, दाङ र सल्यानमा बर्सेनि विषालु च्याउ खा“दा मृत्यु हुनेको दर बढिरहेकाले सचेत हुनुपर्ने बताए । सामान्यतः च्याउको पहिचानको हस्तान्तरण प्रक्रिया गलत भएको, उस्तै लाग्ने च्याउबाट झुक्किने गरेको र समयमै उपचारको अभावमा धेरैले ज्यान गुमाउनुपरेको उनको भनाइ छ । ‘विषालु च्याउको सेवनपछि पेट दुख्ने, पखाला लाग्ने, जिब्रो सुन्निने, मुखबाट ¥याल आउने, कोक्काउने, र बोहोससमेत हुने समस्या देखिन्छ । च्याउ खाएको ६ घण्टाभित्र त्यसको लक्षण देखिने भएकाले समयमै लक्षणको पहिचान गर्न सके र अस्पताल पु¥याउन सके मृत्यु हुनबाट जोगाउन सकिन्छ,’ मिजारले भने ।
डा. देवकोटाले च्याउ उम्रिएको स्थान र बाहिरी आवरणबाट विषालु हो कि होइन भनेर चिन्न सकिने जानकारी दिँदै माटोमा उम्रिएको, गिल्स भएको, छाता जस्तो भएको, छातामा थोप्ला भएको च्याउ विषालु हुने बताए । ‘माटोमा उम्रिएको च्याउ त खानै हुँदैन । माटोमा उम्रिने च्याउ अधिकांश विषालु हुन्छन् । र, पहिचान गर्न पनि कठिन हुन्छ,’ उनले भने । विषालु च्याउले शरीरका भित्री अंगहरू विशेषगरी कलेजो र मिर्गौलामा असर गर्ने र समयमै उपचार नपाउँदा बिरामीको ज्यानै जाने देवकोटोले बताए । नेपालमा एक हजार २९२ प्रजातिका च्याउ पाइने उल्लेख गर्दै उनले १५९ प्रजातिका च्याउ मात्रै खानयोग्य रहेको जानकारी दिए । सय प्रकारका च्याउ एकदमै विषालु रहेको उनको भनाइ छ ।