उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन्। भेटमा शुभकामना आदान-प्रदानपश्चात् दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक एवं क्षेत्रीय तथा अन्तर्राष्ट्रिय फोरममा सहयोगलगायतका विषयमा छलफल भएको बताइएको छ।
उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै घनिष्ठ र सुमधुर सम्बन्ध रहिआएको बताए। ‘दुई मुलुकबीच स्थापना भएको संयुक्त आर्थिक आयोग र द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रमार्फत हामीले सम्पर्क र वार्तालाई निरन्तरता दिन आवश्यक छ,’ उनले भने।
उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रहरूमा सहयोग विस्तार गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्धलगायत पारस्परिक सहयोगका धेरै क्षेत्रमा दुवै देशले मिलेर काम गर्न सक्छन्। हामीले हाम्रा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ।’
नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र लाभदायक स्थान भएको उल्लेख गर्दै उनले विदेशी लगानीकर्तालाई सहजीकरण गर्न नेपालले उद्योग विभागमा ‘वन स्टप सर्भिस सेन्टर’ स्थापनासमेत गरेको जानकारी दिए।
उपराष्ट्रपति यादवले नेपालले पाकिस्तानी पर्यटकहरूको लागि आकर्षक पर्यटकीय उत्पादन र सेवाहरू प्रदान गर्दै आएको उल्लेख गर्दै नेपालको प्राकृतिक, पुरातात्विक र सांस्कृतिक सम्पदाले धेरै ठूलो संख्यामा पाकिस्तानी जनतालाई नेपाल भ्रमण गर्न आकर्षित गर्ने विश्वास व्यक्त गरे।
क्षेत्रीय तथा अन्तर्राष्ट्रिय फोरममा सहयोगको सन्दर्भका बारेमा उनले भने, ‘धेरै विषयमा नेपाल र पाकिस्तानको समान दृष्टिकोण छ र हाम्रा चासाहरू बहुपक्षीय मञ्चहरूमा मिल्दाजुल्दा छन्। दुवै देशले संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन र सार्कलगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा सहकार्य गर्दै आएका छन्।’
उपराष्ट्रपति यादवले दक्षिण एसियाका जनताको शान्ति, समृद्धि र बृहत्तर हितका लागि सार्क अगाडि बढ्नुपर्नेमा जोड दिए। ‘सार्कको वर्तमान अध्यक्षको हैसियतमा नेपालले रोकिएको सार्क प्रक्रियालाई पुनः सुचारु गर्न हरसम्भव प्रयास गरिरहेको छ,’ उनले भने।
पाकिस्तानका राजदूत अबरार एच हास्मीले नेपाल र पाकिस्तानबीच घनिष्ठ सम्बन्ध रहेको र दुई मुलुक एक-अर्काको सार्वभौमिकताको सम्मान गर्दै आएको उल्लेख गर्दै सार्कमा नेपालको भूमिका सराहनीय रहेको बताएका थिए।