संसदीय समितिले सरकारसँग माग्यो हवाई दुर्घटनासम्बन्धी यसअघिका छानबिन प्रतिवेदनहरू

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण

संसदीय समितिले सरकारसँग हवाई  दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित यसअघि भएका छानबिनका अध्ययन प्रतिवेदनहरू मागेको छ। बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र  पर्यटन समितिको बैठकले हवाई सुरक्षासम्बन्धी छानबिन प्रतिवेदनहरू यथाशीघ्र उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो।

निर्देशनमा ‘यसअघि हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित नेपाल सरकार र मन्त्रालयद्वारा गठित छानबिन समिति एवं कार्यदलमार्फत पेस भएका अध्ययन, अनुसन्धानमूलक प्रतिवेदनहरू के कुन अवस्थामा रहेका छन् सोको जानकारीसहितको विवरण समितिलाई यथाशीघ्र उपलब्ध गराउन’ भनिएको छ।

दुर्घटनापिच्छे छानबिन समिति बने पनि हवाई सुरक्षामा सुधार आउनुको साटो झनै कमजोर बन्दै गएको औँल्याउँदै संसदीय समितिले यससम्बन्धी नेपालको कानुन अन्तर्राष्ट्रिय  अभ्यासअनुरूप भए–नभएको छानबिन गर्न १५ दिनकाे समय दिएकाे छ।

छानबिन गरी नीतिगत सुधार गर्न मन्त्रालयलाई निर्देशन दिएको छ। छानबिनका क्रममा दोषी देखिए कारबाही सिफारिस गर्न विज्ञहरूको स्वतन्त्र छानबिन समिति गठन गर्नसमेत निर्देशन भएको छ।

संसदीय समितिले गत वर्ष पुस ५ गते दिएको निर्देशन पालना नभएकोतर्फ सचेत गराउँदै ती निर्देशन कार्यान्वयन गराउन पुनः स्मरण गराएको छ।

समितिले हवाई उडान सुरक्षासम्बन्धी छुट्टै नीति तर्जुमा गर्न तथा नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक एवं नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्न निर्देश गरेको थियो।

सुझावित समाचार