जुम्लामा घट्दै मौरीपालन व्यवसाय

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण

जुम्लाको चन्दननाथ नगरपालिका– २ खोलीकोटका रामकृष्ण बुढ्थापा उमेरले ७७ वर्ष पुगे। उनले ०५२ देखि मौरीपालन सुरु गरेका थिए। मौरीपालनलाई अनुकूल सोही नगरपालिकाको वडा नम्बर ३ रडिखेल्ला भन्ने ठाउँमा मौरीपालन गर्दै आएका थिए। त्यतिवेला उनीसँग एक मौरीका घार र कृषि विकास कार्यालय जुम्लाले अनुदानमा दिएको अर्को एक घार थियो। दुई घारबाट व्यवसाय सुरु गरेका बुढ्थापाले १५० घारसम्म मौरी बनाए। १५० घार मौरी भएको अवस्थामा घार र मह बिक्री गर्दा उनले वर्षमा १२ लाख आम्दानी गर्थे । तर, पछिल्ला वर्षहरूमा उनले रोग, किरा र जंगली जनावरबाट मौरी बचाउन सकेनन्। उनीसँग अहिले एक घार मात्रै मौरी बचेको छ। ‘उमेर पनि ढल्कँदै गयो। मौरी हेरचार गर्ने अर्को मान्छे भएन। मौरीपालन गरेको ठाउँमा बस्न पनि सकिएन,’ बुढ्थापाले भने, ‘रोग, किराभन्दा पनि बढी जंगली जनावर भालुले सबै मौरीका घार सखाप बनायो।’

पातारासी गाउँपालिका– ७ पटमारा गाउँका टेकबहादुर बुढाले लम्पी स्किन रोगले सबै गाईगोरु मरेपछि गत वर्षबाट मौरीपालन गर्न थालेका थिए। ४० हजार लगानी गरेर पाँचवटा मौरीका घार खरिद गरेका उनीसँग अहिले एउटा घार पनि छैन। उमेरले पाँच दशक नाघिसकेका बुढाले दुहुना गाई र खेत जोत्ने गोरु मरेपछि सहज व्यवसायका रूपमा मौरीपालन गरे पनि त्यहाँबाट पनि फाइदा गर्न सकेनन्। ‘लम्पी स्किन रोगले गाईगोरु सखाप भए, चरन क्षेत्र अभाव र अज्ञात रोगले मौरी,’ उनी भन्छन्, ‘सहज होला भनेर मौरीपालन गरेँ। तर, एक वर्ष नबित्दै पाँचवटै घार रित्तिए। आम्दानी मात्र खोसिएको होइन, अब त केही गर्ने जाँगर नै हराएको छ।’ रोग र किराको संक्रमण हुँदा तथा आपतविपत पर्दा सहयोग गर्ने, सल्लाह सुझाव दिने सहयोगी निकाय नहुँदा व्यवसायमा जोखिम बढी रहेको उनी सुनाउँछन्।

यता, चन्दननाथ नगरपालिका– ३ का बालकृष्ण उपाध्यायसँग पनि एक वर्ष पहिलेसम्म २५ वटा मौरीका घार थिए। मह बेचेर वार्षिक मनग्य आम्दानी पनि गर्दै आएका थिए। तर, १८ वटा घारका मौरी एकाएक मरेपछि अहिले उनीसँग सात घार मात्रै बाँकी छन्। उनी भन्छन्, ‘अज्ञात रोगले मौरीपालनमा ठूलो क्षति गरेपछि आम्दानी खोसिएको छ। २५ घारमध्ये अहिले सात घार मौरी मात्रै छन्। मौरी निष्क्रिय हुँदै जाने, मौरी र पोला दुवै कालो हुँदै जानेजस्ता लक्षण देखिएका छन्। कसरी रोग निवारण गर्ने होला ? केही थाहा छैन। व्यवसायबाट हात धुनुको विल्कप रहेन।’

रामकृष्ण, टेक र बालकृष्णजस्तै जुम्लाका सयौँ मौरीपालन किसान व्यवसायबाट बर्सेनि घाटा व्यहोर्दै आएका छन्। धमाधम मौरी घारमै मर्न थालेपछि उनीहरू चिन्तित छन्। परागसेचन गर्ने अर्थात् फूल फूल्ने सिजनमै मौरी मर्न थालेपछि जिल्लामै मौरीपालन व्यवसाय घट्दो क्रममा छ। यहाँ अहिले पनि परम्परागत तरिकाले नै मौरीपालन हुने गरेको छ। खोपे, मुढे, टोड्के र फाँके घारमै मौरीपालन गरिन्छ। आधुनिक घारको प्रयोग अझै पनि हुन सकेको छैन। मौरीपालन क्षेत्रमा सरकार र गैरसरकारी तवरबाट आधुनिकीकरणका लागि लगानी भएको पाइँदैन। ०५०/५१ सालतिर दातृ निकाय सिएससी र इसिमोडले यो क्षेत्रमा केही काम गरे पनि पछिल्लो समय राज्य तहबाट खासै लगानी भएको पाइँदैन। जुम्लामा अधिकांशले लोपोन्मुख प्रजातिको एपिस सेराना जातको मौरीपालन गर्ने गरेका छन्।

जुम्लामा हिउँदको समय प्रायः चिसोले मौरी मर्ने गरेका छन्। तर, पछिल्लो वर्षमा परागसेचन गर्ने (मौरीले मह बनाउने सिजन) जेठदेखि साउनको अवधिमा मर्न थालेपछि मौरीका घार घट्दै गएका छन्। कम लगानीमा बढी आम्दानी लिन सकिले भए पनि समयानुकूल घार नहुनु, उपकरण प्राप्त नहुनु, सीप प्रविधिको कमी, विषादीको प्रयोग, चरन क्षेत्रको अभाव, वनजंगल नासिँदै जानु, जलवायु परिवर्तनजस्ता कारणले मोरीपालक किसानले चुनौती भोग्नुपरेको छ। जसका कारण व्यवसाय घट्दै गएको हो।

३० वर्षको अनुभव संगालेका मौरीविज्ञ सतानन्द उपाध्याय जुम्लामा अरूभन्दा चरन क्षेत्र अभावकै कारण मौरीपालन संकटमा परेको बताउँछन्। उनले भने, ‘जुम्लामा मौरीका लागि पर्याप्त चरन क्षेत्र छैन। स्थानीयले फलफूलजन्य बाली रोप्नै छोडिसके। त्यसमाथि मह निकाल्दा मौरीलाई चाहिने आहार नै नछाडी रित्याउने गर्दा पनि मौरीपालन संकटमा छ। साथै रोगको संक्रमण पनि देखिन्छ। यसको निवारण गर्न विज्ञ टोलीले अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको छ।’

केही वर्षअघि जिल्लामा आएको एक विज्ञ टोलीले पनि जुम्लामा चरन क्षेत्र अभावकै कारण मौरीपालन संकटमा परेको बताएको थियो। किसान भने चरन क्षेत्र अभावले मात्रै मौरी मरेका हुन् भन्ने पक्षमा छैनन्। विज्ञ टोली ल्याएर हरेक वर्ष मौरी मर्ने रोगको निवारण गर्नुपर्ने उनीहरूको धारणा छ।

महबाट वार्षिक २४ करोड आम्दानी
जुम्लामा मौरीपालनबाट वार्षिक २४ करोड आम्दानी हुने गरेको छ। मौरीपालन संकटमा परे पनि वार्षिक २४ करोड रुपैयाँ मह बेचेर मात्रै जुम्लाको आम्दानी हुने गरेको हो। जुम्लामा कति घार मौरी छन् भन्ने यकिन तथ्यांक नभए पनि अनुमानित आठ हजार घार मौरीपालन हुने कर्णाली मौरीपालन सहकारी संस्थाको अनुमान छ। ती घारबाट उत्पादित मह बिक्रीबाट वार्षिक सरदर २४ करोड आम्दानी हुने गरेको संस्थाका सचिव नारायण चौलागाईंले बताए।

उनका अनुसार मौरीपालनमा ७५ प्रतिशत क्षति हुँदा पनि वार्षिक रूपमा मह बेचेर २४ करोड भित्रिने गरेको छ। महलाई लेबलिङ र प्याकेजिङ गर्न सके विश्वबजारमा पठाउन सकिने उनी बताउँछन्। जुम्लामा हाल प्रतिमाना १५ सय रुपैयाँसम्ममा मह बिक्री हुने गरेको छ। मौरीपालनबाट अझै आम्दानी बढाउने सम्भवाना भए पनि चरन क्षेत्र अभावले समस्या निम्तिँदै गएको कृषि विकास कार्यालयका योजना अधिकृत लछिराम महतले बताए। मौरीपालनलाई बढावा दिन हरेक किसानले अनिवार्य फलफूल तथा फूल फुल्ने अन्न लगाउन जरुरी रहेको उनले औँल्याए।

सुझावित समाचार